काठमाडौँ । जापानमा मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले रिहा गरेको छ । सोमबार प्रहरीले अधिकारीलाई श्रीमतीको जिम्मा लगाएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णय अनुसार अधिकारीलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।
उनीसहित पक्राउ परेका सबैको बयानपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उनलाई मुद्दा दायर नगर्ने निर्णय गरेको थियो । उनले क्लिन चिट पाएसँगै रिहा भएका हुन् ।
अधिकारी गत कार्तिक २५ गते पक्राउ गरेका थिए । जापानको अध्यागमन विभागबाट अधिकारीसहित ४ जना डिपोर्ट भएका थिए । उनी जापानको एक कार्यक्रममा भाग लिन जापान गएका थिए ।
जापान जाँदा नक्कली कागजात बनाएर मन्त्रालयसँग असम्बन्धित मान्छे लगेको उनीमाथि आरोप छ । तत्कालीन मन्त्री अधिकारीसँग जापान गएका ३ जनाले आफूहरुले १० लाखदेखि १४ लाखसम्म पैसा तिरेर गएको प्रहरीसमक्ष बयान दिएका छन् ।
सरकारी वकिलको कार्यालय काठमाडौंले मानव तस्करीको आरोपित महेश पाण्डे, दावा शेर्पा, जनक राई, कञ्चन देवकोटा, जुगल रिजाल, गुडी राई, नवीन राई, दिवाकरबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई, वीरबहादुर सुनुवार र योगराज गौतमविरूद्ध मुद्दा दायर गरेको छ । प्रतिवादीहरु योगराज, विष्णुप्रसाद र दिवाकर भने फरार छन् ।