काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला न्यायाधीश हिमलाल बेलबासेको इजलासले रवि र छविलाल जोशीलाई १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
आइतबारको थुनछेक बहसमा लामिछानेले न्यायाधीशलाई धरौटीमा छाडिदिन आग्रह गरेका थिए । ‘श्रीमान मकतै भाग्दिनँ, अदालतलाई सहयोग गर्छु, म कतै जाने पनि होइन । धरौटीमा छोडिदिनुस्’ । तर, न्यायाधीश बेलवासेले भने उनीविरुद्ध अन्त पनि उजुरी परेकाले कास्की अदालतले छाडेपनि फेरि पक्राउ पर्ने जानकारी गराएको इजलासमा उपस्थित एक कानून व्यवसायीले जानकारी दिए ।
पूर्व गृहमन्त्री लामिछानेमाथि आज पाँचो पटक म्याद थपिएको हो । लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा अनुसन्धान गर्न सुरुमा कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि रूपन्देही, काठमाडौं र चितवनले पनि पक्राउ पुर्जी जारी गरेका छन् ।
उनलाई काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन कसूरमा पनि पक्राउ पुर्जी जारी भएको छ । यसअघि उनलाई रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको बचत हिनामिनाको आरोपमा पोखराबाट रुपन्देही लगेर बयान लिइएको थियो ।
लामिछानेमाथि सहकारीको रकम अपचलनसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान भइरहेको छ । प्रहरीले सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने छ ।