काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी परेको छ । प्रहरी कार्यालय चितवनका अनुसार सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतर्कताहरुले लामिछानेसहित १० जनाविरुद्ध जाहेरी दिएका हुन् ।
सहारा सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार रकम अवैध तरिकाले ल्याइएको पाइएको छ । सो सहारा सहकारी ठगी प्रकरणमा कास्की प्रहरीकै हिरासतमा रहेका नेपाल प्रहरीका पूर्व डिआईजी छविलाल जोशीसमेत तानिएका छन् ।
सहारा सहकारीका बचतकर्ताहरुले यसअघि नै जाहेरी दिएका थिए । अहिले १० जनाविरुद्ध पुरक जाहेरी दर्ता गराएका हुन् । लामिछाने र जोशी पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिमलगायतका सहकारीमा ठगीमा अनुसन्धान भइरहेको छ ।
रवि र छवि काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा समेत जोडिएका छन् । उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जीसमेत जारी गरिसकेको छ ।