काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले दिवंगत ढुङ्गानाको सम्मानमा शोक सलामी अर्पण गरेको थियो । ढुङ्गानाको पार्थिव शरीरमा उनका छोराहरुले दागबत्ती दिए।
सरकारको निर्णयअनुसार ढुङ्गानाको सम्मानमा १७ तोपको सलामी दिइयो। कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।
पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्न सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, उपसभामुख इन्दिरा राना, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री, मन्त्री गण, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, सांसद तथा विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्ति तथा सर्वसाधारण आर्यघाट पुगेका थिए।
निधन भएपछि ढुङ्गानाको पार्थिव शरीर ज्ञानेश्वरस्थित सानो गौचरणमा ल्याइ उनीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । प्रधानमन्त्री, सभामुख, नेपाली कांग्रेसका सभापतिसहित विभिन्न राजनीतिक दलका नेता सानो गौचरन पुगेर उनीप्रति श्रद्धाञ्जली प्रकट गरे।
नेपाल सरकारले सोमबार नै उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।
नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गरिरहनुभएका ढुङ्गानाले मुलुकमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । राजनीतिक क्षेत्रमा देखिएको विकृति र विसङ्गतिबारे स्पष्ट र खरो रुपमा प्रतिक्रिया दिँदै आउनुभएका उनी संविधान तथा कानुनका ज्ञाता हुन्।
२०४८ मा काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी प्रतिनिधिसभाको सभामुख भएका थिए। नेपालको संसदीय व्यवस्था र प्रजातान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न उनको ठूलो योगदान छ ।
उनी विसं २०४७ को संविधान निर्माणका लागि गठित आयोगको सदस्यसमेत थिए।