एजेन्सी । शनिबार राति रुसले युक्रेनमा ऊर्जा पूर्वाधार लक्षित ठूलो हवाई आक्रमण गर्दा ५ जना युक्रेनी नगरिकको मृत्यु भएको छ ।
रुसले केही महिनापछि गरेको यो सबैभन्दा ठूलो आक्रमण भएको बताइएको छ । रुसी आक्रमणका कारण युक्रेनमा देशभर ऊर्जा पूर्वाधारमा व्यापक क्षति भएको छ । युक्रेनको दक्षिणमा ओडेसा, पूर्वमा निप्रोदेखि पश्चिममा रिभ्नेसम्म धेरै प्रमुख शहरहरूमा रुसले आक्रमण गरेको हो । राजधानी कीभका बासिन्दाहरू मेट्रो नेटवर्कमा आश्रय लिन बाध्य भएका छन् ।
माइकोलाइभ क्षेत्रमा भएको ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने दुई बालबालिका सहित छ जना घाइते भएका छन् । ओडेसामा एक आक्रमणमा थप दुई जनाको मृत्यु भएको छ । ल्भिभ क्षेत्रमा भएको आक्रमणमा कारमा रहेक्री एक महिलाको मृत्यु भएको छ ।
रुसले युक्रेनमा १२७ मिसाइल र १०९ आक्रमण ड्रोन प्रहार गरेको युक्रेनी वायुसेनाले जनाएको छ । रुसी आक्रमणका कारण ओडेसा सहित धेरै क्षेत्रहरू अन्धकार भएका छन् । पानी र बिजुली आपूर्तिहरू काटिएका छन् र अस्पतालहरू जेनेरेटर हरूबाट चलिरहेका छन्।
युक्रेनी उर्जा कम्पनी डीटेकले त्यसको थर्मल पावर प्लान्टमा आक्रमण भएको र उपकरणमा “गम्भीर क्षति“ भएको बताएको छ । रुसले सन २०२२ मा युक्रेनमाति एक्कासी आक्रमण गरेको थियो । त्यस यता रुस र युक्रेनबीच लडाइ भइरहेको छ ।