गाजा, प्यालेस्टाइन । इजरायलले सिरियामा बिहीबार गरेको हवाई आक्रमणमा इस्लामिक जिहादका दुई वरिष्ठ नेताको मृत्यु भएको गाजामा हमाससँगै इजरायलविरुद्ध लडेको प्यालेस्टिनी समूहको एक स्रोतले बताएको छ ।
दमास्कस नजिकैको कुद्सायामा भएको आक्रमणमा इस्लामिक जिहादको राजनीतिक ब्यूरोका सदस्य अब्देल अजिज मिनावी र समूहका विदेश सम्बन्ध प्रमुख रस्मी अबु इसाको मृत्यु भएको स्रोतले शनिबार एएफपीलाई जानकारी दिएको छ । उक्त स्रोतका अनुसार सिरियामा समूहको एउटा कार्यालय रहेको भवनलाई लक्षित गरी गरिएको आक्रमणमा इस्लामिक जिहादका अर्का एक सदस्यको पनि मृत्यु भएको थियो ।
सिरियामा भएका व्यक्तिगत आक्रमणबारे विरलै टिप्पणी गर्ने इजरायली अधिकारीहरूले बिहीबार इस्लामिक जिहादलाई लक्षित गरी गरिएको आक्रमणको जिम्मेवारी लिएका छन् ।
एएफपीले शनिबार सम्पर्क गर्दा इजरायली सेनाले भने दुई नेताको मृत्युबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।
बेलायतस्थित सिरियाली मानव अधिकारवादी समूह (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स वार मोनिटर) का अनुसार बिहीबार दमास्कस र आसपासमा इजरायली आक्रमणमा परी २३ जनाको मृत्यु भएको छ ।
राजधानीको बाहिरी इलाकामा भएको आक्रमणमा परी १० जना इस्लामिक जिहादी लडाकूको मृत्यु भएको समूहले जनाएको छ ।
सिरियाली सरकारी सञ्चारमाध्यमका अनुसार इजरायलले शुक्रबार पुनः माजेह जिल्लामा आक्रमण गरेको छ । लेबनानी सीमा नजिकका क्षेत्रलगायत सिरियामा मुख्यतः लेबनानी आन्दोलन हिजबुल्लाहका पूभाव क्षेत्रहरूलाई लक्षित गरी आक्रमण तीव्र भएको छ ।
सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा भएको आक्रमणका क्रममा इस्लामिक जिहादले कैयौँ इजरायलीलाई बन्धक बनाएको थियो भने अझै पनि करिब १०० को हाराहारीमा बन्धकलाई मुक्त गर्न सकिएको छैन ।
यस हप्ताको सुरुमा उक्त समूहले २९ वर्षीया रूसी–इजरायली बन्धक साशा ट्रुपानोभको दुई भिडियो क्लिप सार्वजनिक गरेको थियो ।