काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय महिला खेलाडीले खेलकुदका विभिन्न विधामा गरेको प्रतिस्पर्धा तथा प्राप्त सफलता नेपाल र नेपालीका लागि गौरवपूर्ण रहेको बताएका छन्।
अध्यक्ष दाहालले खेल क्षेत्रको सफलताको इतिहासमा आज फेरि एक आयाम थपिँदै इतिहास कोर्न सफल भएको उल्लेख गरेका छन्।
आज साँझ युएईलाई पराजित गर्दै आइसिसी महिला यु-१९ टी-२० विश्वकपका लागि नेपाल छनोट भएपछि अध्यक्ष दाहालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सफलताको इतिहासमा आज फेरि एक आयाम थपिएको छ। पहिलो पटक आइसिसी यु–१९ महिला क्रिकेट टोली विश्वकपमा छनोट भएर देशको गौरव बढाएको छ।’
युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको आइसिसी यु–१९ महिला विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो।
युएईको अजमानस्थित द सेभेन स्टेडियममा आज टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली युएईले ८४ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १४ दशमलव ४ ओभरमा २ विकेटको क्षतिमा उक्त लक्ष्य पूरा गरेको थियो।