बेलायतमा नेपालको पर्यटन प्रवर्द्धन



काठमाडौँ । संयुक्त अधिराज्यमा विश्वकै ठूलो पर्यटन मेला मानिने ‘वल्र्ड ट्राभल मार्केट’मार्फत नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालका विभिन्न पर्यटन कम्पनीको सहभागिता रहेको मेलामा नेपालका पर्यटन गन्तव्यबारे विश्वभर प्रचारप्रसार गरिएको हो ।

साहसिक यात्रा, सांस्कृतिक विविधता र दिगो पर्यटनका लागि अग्रणी गन्तव्यको रूपमा नेपालले लन्डनमा आयोजना भएको वर्ल्ड ट्राभल मार्केट (डब्लुटीएम)मा यही कात्तिक २० देखि आफ्नो उपस्थिति जनाउँदै विश्व पर्यटन उद्योगको ध्यान आकर्षित गरेको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।


बोर्डका अनुसार यस वर्षको डब्लुटीएम लन्डन कात्तिक २० देखि २२ सम्मका लागि तय गरिएको छ, जसमा एकसय ८४ देशबाट ४३ हजार सहभागी, तीन हजार आठ सय ७५ प्रदर्शक र ८२ वटा सम्मेलन सत्र आयोजना हुनेछन् । बोर्डले गौरवपूर्वक आफ्नो ४० वर्षको सहभागिता वर्षको उत्सव मनाउँदै विश्व पर्यटन क्षेत्रमा लामो समयदेखिको योगदानलाई निरन्तरता दिइएको जनाएको छ ।

हालै लोनली प्लानेटद्वारा सन् २०२४ का लागि ‘बेस्ट इन ट्राभल’ गन्तव्यका रूपमा घोषित भएपछि यस वर्ष डब्लुटीएममा नेपालको उपस्थिति थप महत्वपूर्ण बनेको बोर्डले जनाएको छ । यसले विश्वभरका यात्रु र पर्यटन व्यवसायीसामु नेपालका सम्पदालाई प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको बोर्डले उल्लेख गरेको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले वर्ल्ड ट्राभल मार्केटमा सहभागिताले नेपाललाई उच्च सम्भावनायुक्त बजारसँग प्रत्यक्ष संलग्न हुन सघाउ पुग्ने र यसले शीर्ष अन्तर्राष्ट्रिय गन्तव्यको साथ नेपाललाई रहने विश्वास व्यक्त गरे ।