एकसय १३ जना विरामीलाई विशेष उपचारका लागि गाजाबाट निकाल्ने डब्लुएचओको योजना



जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले  बुधबार गाजाबाट ठूलो मात्रामा चिकित्सा निकासीको योजना बनाएको बताएको छ । यसमा युद्धग्रस्त क्षेत्रबाट एक सयभन्दा बढी गम्भीर रूपमा बिरामी र घाइते रोगीहरू समावेश हुनेछन् ।

डब्लुएचओका अनुसार यसका सहयोगीहरूसँगै बुधबार उनीहरूले संयुक्त अरब इमिरेट्स र केहीलाई रोमानियामा विशेष उपचारका लागि एक सय १३ रोगीलाई निकाल्ने छन् ।


राष्ट्रसङ्घीय एजेन्सीले कार्यक्रम सफल भयो भने यो सन् २०२३ अक्टोबरपछिको गाजाबाट सबैभन्दा ठूलो निकासी हुने बताएको छ ।

प्यालेस्टिनी क्षेत्रमा डब्लुएचओका प्रतिनिधि रिक पिपरकोर्नले उहाँहरू उद्धार कार्यक्रम अगाडि बढाउन आशावादी रहेको बताए ।

उनले गाजा क्षेत्रका विभिन्न अस्पतालबाट रोगीहरूलाई खान युनिस दक्षिणमा रहेको गाजा युरोपेली अस्पतालमा ल्याउन प्रयास भइरहेको बताए ।

बुधबार बिहान उनीहरूलाई केरेम शालोममा लगिनेछ र त्यहाँबाट संयुक्त अरब इमिरेट्स र रोमानियामा लैजाने गाजाबाट भिडियो कनेक्सनमार्फत जेनेभामा पत्रकारहरूलाई पिपरकोर्नले बताए ।

यी रोगीहरू गाजामा चिकित्सकीय कारणले उद्धार हुन प्रतीक्षारत लगभग १४ हजारमध्येका हुन् । “उनीहरूमध्ये आधा युद्धको कारण घाइते भएका छन् र अरू गम्भीर रोगहरू जस्तै क्यान्सरबाट पीडित छन्”, उनले भने ।

हमासको सन् २०२३ अक्टोबर ७ को इजरायलमा घातक आक्रमणपछि गाजा युद्ध सुरु भएदेखि क्षेत्रबाट कम्तीमा पाँच हजारजनालाई चिकित्सकीय निकासी गरिएको छ ।

त्यसका साथै मे महिनाको सुरुमा इजरायलले गाजाको प्रमुख रफाह सीमा क्रस्सिङ बन्द गरेदेखि महिनामा मात्र दुई सय ८२ जना बाहिर जान सकेका छन् । तीमध्ये एक–तिहाइ बच्चा रहेको पिपरकोर्नले जानकारी दिए ।

उनले गाजाबाट अत्यन्त आवश्यक चिकित्सा निकासीका लागि ‘तदर्थ’ पहुँचप्रति दुःख व्यक्त गरे । “हामीलाई नियमित पहुँच चाहिन्छ… जुन उचित रूपमा समर्थित, सुविधा प्रदान गरिनेछ र अनावश्यक रूपमा खतरनाक बनाइनेछैन”, उनले भने, “हामीलाई चिकित्सा करिडोर चाहिन्छ र यो प्रारम्भिक चिकित्सा करिडोर हामीले मूलतः पुनःस्थापना गर्न अनुरोध गर्छौं त्यो गाजाबाट पूर्वी जेरुसेलम र पश्चिमी किनारमा रेफर गर्ने परम्परागत मार्ग हो, र… इजिप्ट फेरि खोल्नु पर्ने दोस्रो चिकित्सा करिडोर हो ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here