उपप्रधानमन्त्री सिंह इजिप्ट प्रस्थान



काठमाडौं ।  उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन इजिप्टको कायरो प्रस्थान गरेका छन् । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सिंह आइतबार बिहान आठ बजे कायरो प्रस्थान गरेका हुन् । उपप्रधानमन्त्री सिंहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । कार्यक्रममा विश्वका १५० भन्दा बढी देशको सहभागिता रहने छ । 

सम्मेलनमा उपप्रधानमन्त्री सिंहले तीन वटा सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । सो क्रममा उनले नेपालले वस्ती विकासका क्रममा भोगेका समस्या, जलवायु परिवर्तनका कारण  भोगिरहेको समस्या र वस्ति विकासमा नेपालले हासिल गरेको उपलब्धिबारे जानकारी गराउने छन् । नेपालमा जलवायु परिवर्तनको असर धेरै देखिएकाले भविष्यमा जलवायु परिवर्तनले पनि असर नगर्ने गरी कसरी सहरीकरण र वस्ति विकास गर्न सकिन्छ भन्ने विषयलाई उपप्रधानमन्त्री सिंहले प्रमुख एजेण्डा बनाउने बताइएको छ । 


सहरीकरणका लागि चुनौती बनिरहेको खानेपानी, सरसफाइ र सहरी पूर्वाधारको व्यवस्थापनको विषयलाई पनि नेपालले प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । नोभेम्बर ४ देखि ८ तारिखसम्म कायरोमा वर्ल्ड अर्बान फोरमको कार्यक्रम हुँदै छ  । वर्ल्ड अर्बान फोरम सहरी विकासको क्षेत्रमा  महत्वपूर्ण मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here