-शालिकराम भण्डारी
ॐ ह्रीम क्लिम श्री लक्ष्मीभ्यो नमः
लक्ष्मी वैदिक सनातन हिन्दू संस्कारमा धन तथा सुन्दरताकी देवी हुन् । लक्ष्मी शब्द सर्वप्रथम ऋग्वेदको पुरुषसुक्तमा उल्लेख गरिएको थियो । शास्त्रअनुसार सर्वाेत्तम अवस्थामा भगवान विष्णु र उनको शक्ति लक्ष्मी एकै परमात्मा हुन् भनिएको छ । अर्को भाषामा स्त्रीलाई चौसठ्ठी कला मानिएको छ र ती चौसठ्ठी कलायुक्त महिलालाई लक्ष्मी भनिन्छ । सौभाग्य, समृद्धि, सफलता, सम्पन्नता र सुन्दरताको अर्थमा पनि लक्ष्मी शब्द प्रयुक्त हुने गर्दछ । भगवती दुर्गाको हजार नाममा एक नाम लक्ष्मी हो ।
लक्ष्मी पूजामा धनधान्यकी देवी माता लक्ष्मीको पूजा अर्जना गरिन्छ । लक्ष्मी पूजाको दिन घरमा भएका सम्पूर्ण श्रीसम्पत्ति, गरगहना, द्रब्यलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरी पुजा गर्ने चलन छ । वैदिक सनातन हिन्दू संस्कारमा यसलाई अत्यन्त महत्वका रुपमा लिइन्छ । लक्ष्मी भन्ने बित्तिकै हामी धनमात्र हो भन्ने बुझ्छौँ । यद्यपि लक्ष्मीका विभिन्न आठ रुपहरु छन् । तिहारको अवसरमा लक्ष्मीको बिषेश महत्व रहने भएकाले आज लक्ष्मीको आठ रुप अर्थात् अष्टलक्ष्मीको बारेमा चर्चा गर्नेछौँ ।
लक्ष्मीको आठ रुपलाई अष्टलक्ष्मी भनिन्छ । लक्ष्मी पूजाको दिन घरमा भएका सम्पूर्ण श्रीसम्पत्ति, गरगहना, द्रव्य आदिलाई मात्र पूजा गर्छौं । धनलक्ष्मीको कृपाद्वारा पैसा जीवनमा प्राप्त हुन्छ तर पर्याप्त खुसी नहुन सक्छ । धनकै कारण मनमा शान्ति नहुन सक्दछ । व्यक्तिसँग पर्याप्त धन हुन्छ तर बिरामी हुने कारणले आफ्नो मनले चाहेको खाना खान सक्दैन, घुमफिर गर्न सक्दैन ।
शारीरिक रुपमा अस्वस्थ रहन सक्छ भने त्यस्तो धन के काम ? व्यक्तिसँग धन छ तर धनको उचित सदुपयोग छैन, काम गर्ने उत्साह छैन लक्ष्य उद्देश्य प्राप्त गर्न सक्दैन, धनको सदुपयोग गर्ने साधन छैन, सन्तान छैन, शिक्षादीक्षा राम्रो छैन, सामाजिक मान प्रतिष्ठा छैन, पारिवारिक शान्ति छैन । यी सम्पूर्ण विषय अष्टलक्ष्मीसँग जोडिएका छन् ।
अर्कोतर्फ मानिसले जीवनमा जति पैसा कमाउँछ थप कमाउने लालसा आउँछ । लालसाको कारण मानिस धेरै धन थुपार्ने चक्करमा आफ्नो खुसी गुमाउन पुग्छ । धन कमाए पनि पारिवारिक कलह रहन्छ । व्यक्तिको जीवनमा धन आउँछ तर जीवन धनले मात्र पूर्ण हुँदैन किनकी हामीले लक्ष्मीका अन्य सात रुपको उपेक्षा गरेका हुन्छौंँ । जसले जीवनमा समग्र खुसीयाली रहँदैन ।
वास्तुशास्त्रमा लक्ष्मीका आठ रुपको विभिन्न आठ दिशा तथा विदिशा बताइएको छ । हामीले वास्तुअनुसार घरको आठै दिशाहरुलाई वास्तु अनुकुल बनाए मात्र लक्ष्मीको आठै रुपको समान कृपा प्राप्त हुन्छ । जसले व्यक्तिको जीवनमा खुशीयाली छाउनुका साथै स्वस्थ र सम्पन्नता प्राप्त हुन्छ । वास्तुशास्त्रअनुसार अष्टलक्ष्मीले आठ दिशामा बास गर्ने गर्दछन् । यी अष्टलक्ष्मीको बारेमा विस्तृतरुपमा निम्नानुसार चर्चा महत्वपूर्ण छ ।
१. आदि लक्ष्मी÷आद्यलक्ष्मी÷महालक्ष्मी :
आध्यात्मिक ज्ञानलाई नै आदि लक्ष्मी भनिन्छ । धनवान्, सम्पन्न, अध्यात्म, सात्विक भोजन, दुर्गाको पहिलो शक्ति, ब्रह्माण्डीय ऊर्जाशक्ति, धनको उत्पति र ऊर्जाको अनन्त स्रोतको प्रतिक वा आदिम् रुप पनि भन्न सकिन्छ । म को हुँ ? मेरो जीवनको उद्देश्य के हो ? आफूलाई चिन्ने आफ्नो अन्तर्मनसँग जोड्ने, आत्मसँग साक्षात्कार गर्ने काम आदि लक्ष्मीको हो ।
आदि लक्ष्मीको कृपाले व्यक्ति माया र सद्भाव राख्ने, परोपकारी तथा सहयोगी बन्छ । वास्तुमा आदिलक्ष्मीको दिशा इशान् कोण हो । यस दिशाबाट मानसिक सुख र आनन्द छ छैन हेर्ने गरिन्छ । यो दिशा गुरु वृहस्पतिको रहेकोले गुरुको कृपा छ छैन जाँच गर्न सकिन्छ । घरको यो दिशा वास्तु अनुकूल रहेमा यी गुण सहज प्राप्त हुन्छ अन्यथा वुद्घि, विवेक, विचारहरु, इच्छा, चाहना, उत्प्रेरणा, स्पष्टता, रचनात्मक सोचाइ आदिमा कमी आउँछ ।
२. धन–लक्ष्मी :
धन–लक्ष्मी भौतिक धन र आर्थिक प्रचुरताकी देवी हुन् । समृद्घि र आर्थिक स्थिरता कायम गर्ने काम धन–लक्ष्मीको हो । पैसा, सुन, चाँदी, भौतिक सम्पदा आदिलाई नै धन–लक्ष्मी भनिन्छ । धन–लक्ष्मीको कृपाले व्यक्तिबाट प्राप्त अथवा सही तरिकाले कमाएको धनले मात्र हामीलाई खुसियाली प्रदान गर्दछ । यसले मनमा शान्ति प्राप्त हुन्छ । वास्तुमा धन–लक्ष्मीको दिशा आग्नेय कोणमा पर्दछ । यस दिशालाई प्रसिद्घि, धन, भौतिक सुख आदिका रुपमा पनि लिइन्छ । घरको यो दिशा वास्तु अनुकूल रहेमा उल्लिखित गुणहरु प्राप्त हुन्छ । अन्यथा घरका आयस्रोतहरु ठप्प हुने, धनागमनमा समस्या, दुर्घटना हुनसक्ने, खर्च बढ्ने आदि हुनसक्छ ।
३. धान्य–लक्ष्मी :
धान्य–लक्ष्मी कृषि धनको वाहक, प्रशस्त उत्पादन र खाद्य सुरक्षा सुनिश्चित गर्ने देवी हुन् । धान्य–लक्ष्मीलाई माता अन्नपूर्णा वा भोजनकी देवी पनि भनिन्छ । धान्य–लक्ष्मीको सम्बन्ध भोजनसँग छ । उचित भोजनले हाम्रो शरीरलाई पौष्टिकताका साथै सकारात्मक ऊर्जा उपलब्ध गराउँछ । भोजन ग्रहण गरेर मात्र हुँदैन उपयुक्त भोजन राम्रोसँग पचाउन पनि सक्नुपर्छ ।
जुन व्यक्तिमा धान्य–लक्ष्मीको कृपा रहँदैन, त्यो व्यक्ति सधैँ बिरामी रहन्छ । खाना राम्रोसँग पचाउन नसक्नेले मन लागेको वस्तुको सेवन गर्न सक्दैन । यस्ता व्यक्तिका लागि संसारको सम्पूर्ण धन पनि व्यर्थ रहन्छ । घरमा अन्नको सदुरुपयोग गर्नाले धान्यलक्ष्मीको कृपा रहन्छ । वास्तुमा धान्य–लक्ष्मीको दिशा पूर्व र उत्तर–पश्चिमलाई मानिन्छ । यस दिशालाई स्वास्थ्य, नाम प्रसिद्घि, अन्न अनाजको प्रतीकका रुपमा पनि लिइन्छ ।
४. गज–लक्ष्मी÷भाग्य–लक्ष्मी÷राज–लक्ष्मी :
गज–लक्ष्मी÷भाग्य–लक्ष्मी÷राज–लक्ष्मीलाई धन, शक्ति, कृषि तथा उर्बरताकी देवी, सन्तान प्राप्ति, सन्तान सुख, समृद्घि, वाहन प्राप्ति, शाही वैभव र सार्वभौमिकताको प्रतीकको रुपमा लिइन्छ । यी देवी अन्जन नामक हात्ती चढ्छिन् । गज–लक्ष्मी व्यक्तिको जीवनमा गाडी—घोडाहरुको कारक हो । भाग्य–लक्ष्मीले जीवनमा भाग्य ल्याउँछ भने राज–लक्ष्मीले उन्नति–प्रगति । साथै भाग्य–लक्ष्मीको कृपाले व्यक्ति उच्च ओहदामा पुग्ने गर्दछन् ।
५. सन्तान–लक्ष्मी :
सन्तान र पारिवारिक समृद्घिको दाता, ज्ञान कला कौशलता, शिक्षामा सफलता, सन्तानसहित परिवारलाई आशीर्वाद दिने र उनीहरुको कल्याण गर्ने देवी सन्तान–लक्ष्मी हुन् । सन्तान लक्ष्मीलाई स्कन्द माता पनि भनिन्छ । सन्तान–लक्ष्मीको कृपाले बच्चा स्वस्थ, आज्ञाकारी र माता–पिताप्रति सद्भाव राख्नाका साथै माता–पिताको सेवा गर्ने हुन्छन् । यस्ता सन्तानले समाजमा आफ्नो तथा परिवारको नाम कमाउँछन् ।
६. वीर–लक्ष्मी÷धैर्य–लक्ष्मी :
वीर–लक्ष्मी व्यक्तिको जीवनमा शान्ति, वीरता, विजय र साहसको प्रतीक हो । धैर्य–लक्ष्मीबाट व्यक्तिको जीवनमा सौभाग्य, समृद्घि, आत्मविश्वास र धैर्यता प्राप्त हुन्छ । माता वीर–लक्ष्मी प्रसन्न रहेमा भक्तलाई अकाल मृत्युबाट बचाउने तथा भक्तलाई रक्षा गर्दछिन् । वीर–लक्ष्मीलाई माता कात्याइनीका रुपमा पनि चिनिन्छ, जसले महिषासुरको वध गरेकी थिइन् ।
वास्तुअनुसार बीर–लक्ष्मीको दिशा दक्षिण र धैर्य लक्ष्मीको दिशा पश्चिम हो । परिवार बनाउने या तोड्ने कार्यका लागि यो महत्वपूर्ण क्षेत्र हो । जब परिवारका सदस्यहरूले धैर्यता राख्न असक्षम हुन्छन्, तब घरमा शान्ति र सहिष्णुताको स्तर कमजोर हुन्छ । यसले अन्ततः ठूलो पारिवारिक समस्याको रूप लिन्छ । यस दिशालाई घरको मुख्य मान्छे, नैतिकता, शान्ति, प्रसिद्घी, आनन्दआदिको रुपमा पनि लिइन्छ । यदि घरमा यी चिजहरुको कमी छ भने तपाइको बीर–लक्ष्मीको कृपा नरहेको स्पष्ट हुन्छ ।
७. विद्या–लक्ष्मी :
विद्या–लक्ष्मी ज्ञानकी लक्ष्मी हुन् । विद्या–लक्ष्मीले सिक्ने, सिकाउने क्षमतालाई मद्दत गर्छिन्, जसले आफ्नो कर्मको मार्गमा पुग्न मद्दत मिल्छ । उनको कृपाले हामी सबै आफ्नो क्षेत्रमा अधिक ज्ञान प्राप्त गर्छाैं र कठिन विषयहरू पनि बुझ्न सक्षम हुन्छौँ । विद्या–लक्ष्मी हाँसमा विराजमान रहन्छिन् भने धन–लक्ष्मी कमलको फूलमा । त्यसैले विद्या–लक्ष्मीलाई धेरै स्थिर मानिन्छ, जब कि धन–लक्ष्मीलाई चञ्चल । जीवनमा ज्ञानलाई भौतिक सम्पदाभन्दा धेरै महत्व दिइन्छ ।
८. विजय लक्ष्मी :
जीवनमा आउने समस्याबाट लड्ने शक्ति विजय–लक्ष्मीबाट प्राप्त हुन्छ । यिनको कृपाले जय–विजय, यश, कृति तथा सम्मान प्राप्त गराउने काम गर्छिन् । जीवनमा हामीले सङ्घर्ष गर्नुपर्दछ, जसवाट जित्ने प्रेरणा विजय–लक्ष्मीले दिन्छिन् । हाम्रो जीवनमा आउने समस्याहरुसँग लड्ने र जित्ने साहस दिने काम विजय–लक्ष्मीको हो । वास्तुअनुसार विजय–लक्ष्मीको दिशा उत्तर–पश्चिम (वायव्य) कोण हो ।
अष्ट–लक्ष्मीहरूले जीवनलाई सहज र स्थिर राख्न एकअर्कासँग मिलेर काम गर्छन् । पूर्वकी धान्य वा ऐश्वर्या लक्ष्मीले गज लक्ष्मीसँग मिलेर व्यक्तिहरूलाई सुख सुविधा र विलासिताका साथ उच्चपदको उपभोग गर्ने क्षमता प्रदान गर्छिन् । दक्षिण–पूर्वकी धन–लक्ष्मीले उत्तर–पश्चिमकी विजया–लक्ष्मीसँग मिलेर आग्नेयमा उत्पन्न हुने नगद आवश्यक परेको बेला सहयोगको रूपमा उपलब्ध छ भनी सुनिश्चित गराउँछन् ।
वास्तुअनुसार लक्ष्मी वा सम्पत्ति भनेको स्पष्टता हो, जुन हामीले उत्तर–पूर्वबाट प्राप्त गर्छौं, दोस्रो लक्ष्मी, स्वास्थ्य तथा कनेक्टिभिटी हो जुन हामीले पूर्वबाट प्राप्त गर्छौं । तेस्रो लक्ष्मी भनेको पैसा हो जुन हामीले दक्षिण–पूर्व, नगद वा अग्निको वास्तु क्षेत्रबाट प्राप्त गर्छौं । चौथो लक्ष्मी भनेको प्रसिद्धि हो जुन हामीले दक्षिणबाट पाउँछौँ । त्यसपछि दक्षिण–पश्चिम क्षेत्र आउँछ जसले हामीलाई सीप र विशेषज्ञता दिन्छ । उत्तर–पश्चिमले बल र समर्थन दिन्छ । उत्तरले अवसर दिन्छ । यसरी आठ दिशाबाट यी आठ प्रकारको धन वा लक्ष्मीको आशीर्वाद लिन सकियो भने मात्र जीवन साँच्चै अनमोल बन्न सक्दछ ।
अन्त्यमा, आज लक्ष्मी पूजा अर्थात् धनधान्यकी देवीको पूजा गर्ने दिन । हामी सबैले आफ्नो घर या कर्म क्षेत्रमा माता लक्ष्मीको पूजा–अर्चना गर्छौैं । माता लक्ष्मीको पूजा गर्दा लक्ष्मीका आठवटै रुपको विधिवत् पूजा–अर्चना गर्न अनिवार्य छ । समग्र सुखको प्राप्तिका लागि धनलक्ष्मीको मात्र साधना नगरी आठै रुपको विधिवत् अर्चना या आराधना गर्दा उत्तम लाभ मिल्छ । जीवनका समग्र पक्षमा अधिकतम् उपलब्धिका लागि लक्ष्मीका आठैरुपको साधना गरौँ । (लेखक वास्तु विज्ञानका सञ्चालक एवं दक्षिण एसियाली ज्योतिष महासङ्घका आजीवन सदस्य हुन्)