पर्यटकीय यामसँगै पर्यटकको चहलपहल बढ्दो



काठमाडौँ । सर्वोच्च शिखर सगरमाथामा अघिल्लो असोज महिनामा करिब नौ हजार पर्यटकले भ्रमण गरे । उक्त महिना आठ हजार नौ सय दुई जना पर्यटक खुम्बु क्षेत्रमा गएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।

खुम्बु क्षेत्रमा भित्रिएका पर्यटकबाट रु दुई करोड तीनलाख ४८ हजार पाँचसय ५३ राजश्व सङ्कलन भएको छ । लुक्लादेखि सगरमाथाको आधार शिविरसम्म पर्यटकीय चहलपहल बढ्दो छ ।


म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिएका तथ्याङ्क छ । हाल आन्तरिक र विदेशी पर्यटकले अन्नपूर्ण आधार शिविर भरिभराउ छ । त्यहाँ पुग्ने पदमार्गको पहिचान भएको १३ वर्षको अवधिमा यसपटक धेरै पर्यटक आएको पदमार्गका अभियन्ता तेज गुरुङले बताए । उनका अनुसार दसैँपछि मात्रै यहाँ करिब तीन हजार पर्यटकले आधार शिविरको भ्रमण गरेका छन् ।

अहिले मुख्य पर्यटकीय याम चलिरहेकाले पनि देशभरका गन्तव्यहरूमा पर्यटकीय चहलपहल बाक्लिएको हो । पदयात्रा र पर्वतारोहणका लागि शरद ऋतु उपयुक्त मानिन्छ । वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहण र पदयात्रामा सबैभन्दा धेरै विदेशी पर्यटक आउने गरेका छन् । साहसिक पर्यटनका लागि अति उपयुक्त मानिने यस याममा हिमाल र पहाडी डाँडापाखाको दृश्यावलोकनको मज्जा लिन पदयात्री औधी रुचाउँछन् ।

मुख्य पर्यटकीय सिजन तथा दसैँ र तिहारको बिदाको समयलाई सदुपयोग गर्दै आन्तरिक पर्यटक उल्लेख्य रूपमा गन्तव्य पुग्ने गरेका छन् भने पदयात्रा र पर्वतारोहणका लागि विदेशी पर्यटकले विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्र, खुम्बु, मनास्लु, लाङ्टाङलगायत गन्तव्यमा पुगेका छन् । अन्य पर्यटकीय गन्तव्यहरूमा पाहुनाको घुइँचो छ ।

नेपाली पर्यटनको महत्वपूर्ण हिस्सा ओगट्ने संसारकै आकर्षण पर्वतारोहणका लागि पनि यो याम उपयुक्त मानिन्छ । यतिखेर धेरै आरोहीहरू पर्वतारोहणका लागि नेपाल आएका छन् । मनास्लु, अमादब्लम, अन्नपूर्णलगायतका उच्च हिमशृङ्खला आरोहण उनीहरुको रोजाइमा पर्छ ।

अनुपम प्राकृतिक विविधताले भरिपूर्ण नेपालको सौन्दर्यता अवलोकनका लागि विश्वभरका पर्यटक यतिखेर नेपालका विभिन्न पर्यटकीय गन्तव्यको मज्जा लिइरहेका छन् । भू–धरातलीय स्वरुप, हरिया डाँडाकाँडा, मनमोहक झरना तथा उत्तरतर्फ चाँदीका घेरा झैँ टल्किएका हिमालले पदयात्री पर्यटकको आकर्षण बढाएको छ ।

खुम्बु, अन्नपूर्णलगायत गन्तव्यका होटलहरूमा पर्यटक खचाखच छन् । पोखरा, चितवन, लुम्बिनीमा पर्यटकको चहलपहल बढेको छ । काठमाडौँ उपत्यका आसपासका नगरकोट, धुलिखेललगायत गन्तव्यका होटलहरू भरिभराउछन् ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२४ को नौ महिनामा अर्थात् वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म आठ लाख १६ हजार तीनसय ३९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । समग्रमा अघिल्लो वर्ष सन् २०२३ को तुलनामा छ प्रतिशत र सन् २०१९ भन्दा चार प्रतिशतले पर्यटक आगमन बढेको छ ।

नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) अध्यक्ष कुमारमणि थपलियाले पर्यटन क्षेत्र चलायमान बनिरहेको बताए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार तथा मर्मतको कामले उडान कटौती हुँनेहुँदा पर्यटन क्षेत्रलाई असर पर्नसक्ने सम्भावना औँल्याए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here