सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ५० भन्दा बढी व्यक्तिको मृत्यु, २०० घाइते



मध्य सुडानको एउटा गाउँमा अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) ले शुक्रबार गरेको आक्रमणमा ५० भन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएका गैरसरकारी समूहहरूले जनाएका छन् ।

गेजिरा राज्यको राजधानी वड मदनीमा रहेको प्रतिरोध समितिले भनेको छ, “शुक्रबार बिहान, आरएसएफले अल कमलिन क्षेत्रको अलसेरिहा गाउँमा भारी गोलाबारी र बमबारी गरेका छन्।” समितिले भनेको छ, “अलसेरिहा गाउँका ५३ भन्दा बढी सर्वसाधारण मारिएका छन भने २०० भन्दा बढी अन्य घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।”


शुक्रबार बिहानैदेखि आरएसएफ लडाकूले गेजिरा राज्यको उत्तरमा रहेको अल कमलिन इलाकाको अलसेरिहा गाउँमा आक्रमण गरेको थियो । लडाकूहरूले हतियार र तोपमार्फत् अग्लो भवनबाट निहत्था नागरिकहरूमा गोली हान्न थालेको एक गैर–सरकारी समूहले जनाएको छ ।

सुडानको विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्तिमार्फत गेजिरा राज्यका गाउँ र शहरविरुद्ध आरएसएफको प्रतिशोधात्मक अभियानको निन्दा गरेको छ । आरएसएफले जनजाति र क्षेत्रीय आधार इलाकाहरूमा अभियानहरू सञ्चालन गरिरहेको मन्त्रालयले जनाएको छ ।

सन् २०२३ मध्य अप्रिलदेखि सुडानमा सशस्त्र सेना र आरएसएफ बीचको द्वन्द्वले सुडानमा व्यापक आर्थिक तथा भौतिक क्षति पुगेको छ । सशस्त्र द्वन्द्वका कारण यहाँ हालसम्म २४ हजार ८५० भन्दा बढीको ज्यान गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here