सरकार ढाल्न खबरदारी सभा गरेको होइन, सरकार ढल्छ भनेर आतंक छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार ढाल्न यो खबरदारी सभा नगरेको बताएका छन् ।

शनिबार पार्टीले काठमाडौमा आयोजना गरेको खबरदारीसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले खबरदारीसभा लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गरिएको बताएका हुन् । उनले बरु आफूहरुले खबरदारीसभा गर्ने भनेपछि सत्तापक्षमा आतंक मच्चिएको बताए ।


उनले भने, ‘यो खबरदारीसभा घोषणापछि सत्तापक्षमा आतंक मच्चिएको छ । खबरदार ! सरकार ढल्छ भन्ने डरले बेथितितिर नजानु भ्रष्टारीको संरक्षणमा नलाग्नु । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि खबरदारीसभा गरेको हो । प्रतिगमनकारीले टाउको उठाउन लागेकाले आफूहरु सडकमा आएको हो ।’

उनले दलाल र बिचौलियाको घरमा मध्यरातमा बनेको सरकारले सय दिन नपुग्दै आफूलाई प्रमाणित गरेको आरोप लगाए । उनले भने, ‘यो सरकार बनेकोमा हामी र हाम्रो दललाई कुनै चिन्ता छैन । यो सरकार रातको अँध्यारोमा आफ्नै पार्टी पंक्तिलाई समेत ढाँटेर जाल झेल र षडयन्त्रबाट बन्यो । यो सरकार दलालहरूको घर घरमा गएर रातको १२ बजे बन्यो । सय दिन पुग्दा नपुग्दै हामीले प्रतिनिधिसभामा जे चिन्ता गरेका थियौँ, त्यो सरकारले प्रमाणित गरेको छ ।’

उनले कांग्रेस र एमालेसँग विगतमा सत्ता सहकार्य गरेकामा आफूलाई पश्चाताप भइरहेको बताए । उनले भने, ‘कांग्रेस र एमलोसँग सहकार्य गरेर गल्ती गरेको महसुस गर्यौं । हामीहरु विग्रिन थालेका थियौं, तर तपाईंहरुले बेलैमा निकालेर जनतातिर फर्काइदिनुभयो त्यसका लाविग धन्यवाद । यसलाई हल्का रुपमा नलिनु । भ्रष्ट पार्टीहरु र नेताहरुसँग लागेर माओवादी के हो भन्ने जनतालाई लागेको थियो । अब सच्चिन चाहन्छौं तपाइँहरुको सेवामा लाग्छौं भनेर जनतालाई भन्न पाएका छौं ।’

उनले आफ्नो नेतृत्वको सरकारले सुशासनका पक्षमा इमान्दारीताका साथ काम गर्दागर्दै हटाइएको बताए । उनले भने, छिमेकीसँगको सम्बन्धनलाई इतिहासमा माथिल्लो स्तरमा पुर्याएका थियौं ।’

उनले आफूहरुले सुरु गरेको भ्रष्टाचार नियन्त्रणको कदमलाई उल्टाउने प्रयास नगर्न चेतावनी दिए । उनले भने, ‘ उहाँहरु अहिले भ्रष्टाचार नियन्त्रणको कदमलाई उल्टाउने काम गर्दै हुनुहुन्छ । अँध्यारो युगबाट नेपाललाई उज्यालो युगमा ल्याउनेलाई सरकारले हटाउन खोजेको छ । म प्रधानमन्त्री हुँदा जनार्दन शर्माको प्रस्तावमा नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई ल्यायौं । जसले अँध्यारो नेपाललाई उज्यालो बनायो । तर अहिलेको सरकारलाई कुलमान, प्रचण्ड, नारायाणकाजी, जनार्दन शर्माको नाम सुनेपछि आतंक मच्चिने गरेको छ ।’

उनले आफू र माओवादी नथाकेको बताए । उनले अब जनताका छोराछोरीलाई बन्दुक बाँड्नु नरहेको बताए । उनले अब नेपाली युवालाई स्वदेशमै रोजगारी सृजनाका लागि उत्पादनका औजारसहित नयाँ अभियान चलाउने बताए । उनले आफूसँग अझै अर्को क्रान्तिको नेतृत्व गर्ने आँट रहेको बताए । उनले आफूहरु रवि लामिछानेको बचाउमा नलागेको बताए । उनले सहकारी ठगीमा संलग्न सबैलाई कारबाही गर्नुपर्ने बताए ।

उनले भने,‘आफूले संसदमा सहकारी ठगी सम्बन्धी संसदीय समिति बनाऔं भन्दै हुँदैन भन्ने केपी ओली हो । मैलै नै हो समिति बनाऔं भनेको हो । समितिको प्रतिवेदनमा नाम उल्लेख भएका अरु दलका मानिस पनि समातिउन् भन्ने हाम्रो माग हो । दोषी कसैलाई बचाउनुपर्छ भन्ने पक्षमा छैनौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here