पर्यटनबाट समृद्धि सम्भव छ : महासचिव गुरुङ



तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले पर्यटनबाट समृद्धि सम्भव रहेको बताएका छन् ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित पर्यटकीय स्थल ऐनापहराको आज भ्रमणपछि महासचिव गुरुङले पर्यटनलाई रोजगारीसँग जोडेर अगाडि लैजानुपर्नेमा जोड दिए । नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको जनाउँदै महासचिव गुरुङले पर्यटन क्षेत्रको विकासमा स्थानीय तहले गरेको कार्य प्रशंसनीय रहेको बताए । गाउँपालिकाले ऐनापहरामा पर्यटन पूर्वाधार निर्माण गरी पर्यटक आकर्षित गर्ने खालका गतिविधि बढाएकामा उनले खुसी व्यक्त गरे ।


गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले यस क्षेत्रलाई पर्यटकीय गन्तव्य स्थल बनाउन पूर्वाधार निर्माण गरिएको जानकारी गराए । चुमानले ऐनापहरालाई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्य स्थल बनाउने अभियानमा लागिएको बताए । उनका अनुसार गाउँपालिकाले यहाँ रहेका ढुङ्गामा आकृति खोपेपछि यस ठाउँमा घुम्न आउनेको सङ्ख्या बढेको छ । यहाँ दैनिक तीन सयभन्दा बढी पर्यटकले भ्रमण गर्ने गरेको चुमानको भनाइ छ ।

उनले भने, “यसै रहेका ढुंगालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाउन यो कामलाई अगाडि बढाइएको हो ।” झरना झरेको ठाउँको ढुंगामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुंगामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ ।

ऐनापहरामा उद्यान निर्माणका लागि गत आर्थिक वर्षमा रु. एक करोड ४० लाख बजेट विनियोजन गरिएको थियो । गाउँपालिकाले यस ठाउँमा स्काई साइक्लिङ र सिसाको पुल बनाउने योजना अगाडि सारेको छ । सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here