धोबीखोला करिडोरमा नवजात शिशुको शव फेला



काठमाडाैँ । काठमाडौँको धोबीखोला करिडोरमा नवजात शिशुको शव फेला परेको छ । काठमाडौँ महानगरपालिका–३० मैतीदेवीस्थित धोबीखोला करिडोरको सडकमा थुपारिएको फोहोरको डङ्गुरमा नवजात शिशुको शव आज बिहान फेला परेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले फोहोरको डङ्गुरमा भर्खरै जन्मेको नवजात शिशुको शव सालनालसहित फेला परेको जानकारी दिए । उक्त शवलाई महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले मुचुल्का गरी त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पठाएको प्रवक्ता मैनालीले बताए । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।