४ हजार सैन्य पदका लागि दरखास्त खुल्यो



काठमाडौँ । नेपाली सेनाले ठूलो संख्यामा सैन्य पदमा आवेदन माग गरेको छ ।

सेनाले खुला तथा समावेशी प्रतिस्पर्धाबाट चार हजार जना माग गरेको हो । भर्ना छनौट निर्देशनालयले बिहीबार गोरखापत्रमा सूचना प्रकाशित गरी विभिन्न गणका लागि सैन्य पदमा आवेदन खुला गरेको छ । चार हजारमध्ये खुलातर्फ दुई हजार ९८ जना माग गर्दै दरखास्त माग भएको छ भने अरू समावेशीतर्फ मागेको छ ।


कक्षा ८ उत्तीर्ण भएका तथा १८ वर्ष पूरा गरी २२ वर्ष ननाघेका (बहालवाला उम्मेदवारको हकमा २६ वर्ष ननाघेका) उम्मेदवारले १६ वैशाखभित्र दरखास्त दिनुपर्नेछ । दोब्बर दस्तुर तिरेर २३ वैशाखसम्म दरखास्त दिन सकिने व्यवस्था कायम गरिएको छ ।

सैन्य पदका लागि शारिरिक योग्यता पनि कायम छ । पुरुषको हकमा उचाइ न्यूनतम ५ फिट ३ इन्च हुनुपर्नेछ भने छाती नफुलाइ ३२ र फुलाउँदा ३४ इन्च हुनुपर्नेछ । त्यस्तै, तौल कम्तीमा ५० केजी हुनुपर्नेछ । महिलाको हकमा उचाइ ५ फिट कायम गरिएको छ भने तौल न्यूनतम ४० केजी हुनुपर्ने छ । 

परीक्षा भने जेठ ५ गते हुनेछ।