‘भूकम्प प्रभावित जिल्लाहरूमा सरकारी संरचना निर्माण कार्य छिट्टै सुरु हुन्छ’



काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भूकम्प प्रभावित जिल्लाहरूमा सरकारी संरचना निर्माण कार्य छिट्टै सुरु गरिने बताए ।

आज जाजरकोट सदरमुकाममा भएको पत्रकार भेटघाटमा उनले परिवर्तित परिस्थितिमा जनताले नयाँ किसिमको कार्यसम्पादन खोजिरहेकाले जिम्मेवारी सम्हाल्ने सबैले जनताको चाहना बुझेर काम गर्नसमेत आग्रह गरे ।


मुख्यमन्त्री कँडेलले सरकारले योजनाको लागि बजेट विनियोजन गर्ने तर कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्नेमा जोड दिए । उनले गत कात्तिक १७ गते गएको जाजरकोटलगायत क्षेत्रमा भूकम्पमा परेर क्षति भएका सरकारी संरचना प्रदेश सरकारले बनाउने र त्यसका लागि बजेट विनियोजन गरिएको बताए ।

“उक्त बजेट कार्यान्वयन गर्नका लागि कार्यविधि निर्माण भइसकेको छ । अब काममा आलटाल नगरौँ”, मुख्यमन्त्री कँडेलले भने,“भूकम्पबाट प्रभावित भएका विद्यालय र स्वास्थ्य चौकी पुनर्निर्माणका लागि प्रदेश सरकारले विनियोजन गरेको ५० करोड रुपैयाँ परिचालनका लागि विद्यालय छनोट जारी छ ।”

विनियोजन गरिएको रकममध्ये २५ करोड जाजरकोट र तीन करोड रुकुम पश्चिमका लागि रहेकाले यसै आर्थिक वर्षमा सम्पन्न गर्नेगरी भूकम्पबाट क्षतिग्रस्त विद्यालय र स्वास्थ्य चौकीको भवन निर्माण गरिने उनको भनाइ छ । यसैगरी कर्णालीको आन्तरिक आम्दानी न्यून रहेको अवस्थामा स्रोतको वृद्धि कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिने र प्रदेश सरकारले अगाडि बढाएका योजनाहरूमा भुक्तानीका लागि कुनै समस्या हुन नदिने गरी काम गर्ने मुख्यमन्त्री कँडेलको भनाइ छ ।

“प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट कात्तिकसम्म सबै योजनाहरूको ठेक्का आह्वानदेखि सम्झौता गरिसक्न सबैलाई निर्देशन दिइसकिएको छ । निर्णयका लागि मात्रै निर्णय गर्ने परिपाटीको अन्त्य गर्न र प्रदेशसभाले पारित गरेका नीति, कार्यक्रम तथा बजेट प्रभावकारी कार्यान्वयको तहमा लैजानका लागि कर्मचारीको भूमिका महत्वपूर्ण छ । योजना कार्यान्वयनमा कुनै विवाद देखिएको अवस्थामा स्थानीय तहसँग समन्वय गरी अगाडि बढ्न आग्रह छ”, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here