बिमस्टेक बडापत्र पारित : तीन नयाँ सम्झौतामा हस्ताक्षर



काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको छ । भर्चुअल हस्ताक्षर समारोहपछि शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले बडापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्मेलनले तीनवटा नयाँ सम्झाैता अनुमोदन गरेको छ । कोलम्बोमा भएको शिखर सम्मेलनमा सहभागी परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालका तर्फबाट हस्ताक्षर गरेकाे मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । मन्त्री खड्काले आपराधिक मामिलामा पारस्परिक कानुनी सहायतासम्बन्धी बिमस्टेक महासन्धि र कोलम्बोमा प्रविधि हस्तान्तरण सुविधा स्थापनासम्बन्धी आबद्धतामा हस्ताक्षर गरेका हुन् ।


त्यसैगरी, मन्त्रालयका सहसचिव तथा क्षेत्रीय सङ्गठन महाशाखाका प्रमुख घनश्याम भण्डारीले ‘बिमस्टेक सदस्य राष्ट्रका कूटनीतिक प्रतिष्ठान÷प्रशिक्षण संस्थाहरूबीच पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्र’मा हस्ताक्षर गरेका छन् ।

बिमस्टेक सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खड्का, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवा, मुख्य सचिव शङ्करदास वैरागी, परराष्ट्र सचिव भरतराज पौडेललगायत सहभागी थिए ।

यो पटकको शिखर सम्मेलनको नारा ‘बिमस्टेक–लचिलो क्षेत्र, समृद्ध अर्थतन्त्र, स्वस्थ जनता’ राखिएको थियो।सम्मेलनलाई सातै सदस्य राष्ट्रका नेताले सम्बोधन गरेका छन् ।

सम्मेलनले बिमस्टेकको अध्यक्षता थाइल्याण्डलाई सुम्पिएको छ।नेपाल, भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, म्यानमार र थाइल्याण्ड बिमस्टेकका सदस्य राष्ट्र हुन् ।