पर्वतको महाशिलामा सात करोडका पर्यटकीय पूर्वाधार निर्माण



पर्वत । पर्वतको महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीमा अवस्थित एसियाकै ठूलो महाशिला (ढु्ङ्गा)मा करोडौँको लगानीमा पर्यटकीय पूर्वाधार निर्माणसँगै पर्यटकको आकर्षण बढ्न थालेको छ ।

सडकमार्गको पहुँचसँगै महाशिला वरिपरि आकर्षक संरचना निर्माण गरिएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय र स्थानीय गाउँपालिकाको गरी सात करोडभन्दा बढीका विभिन्न संरचना निर्माण गरिएको हो ।


सदरमुकाम कुश्माबजारबाट करिब ४० किलोमिटरको दूरीमा पर्ने महाशिलामा रहेको यो ठूलो ढुङ्गा स्थानीयस्तरमा मेहलढुङ्गाको नामले परिचित छ ।

एसियाकै ठूलो महाशिला भएकाले यसलाई अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको महाशिला धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष पुष्पराज पौडेलले बताए ।

उनका अनुसार महाशिलामा अहिलेसम्म झण्डै  सात करोडभन्दा बढीका पूर्वाधार निर्माण भइसकेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत  चार करोड १२ लाखको लागतमा पर्यटकका लागि सुविधासम्पन्न आश्रम भवन, स्वामिनारायण गुफा, मन्दिर तथा शौचालय निर्माण गरिएको छ ।

गण्डकी प्रदेश सरकारको सहयोगमा महाशिला परिसरमा  एक करोडको लागतमा एक सय आठ गौमुखी धारा, महाशिला परिक्रमा गर्ने पदमार्ग, मुख्य गुफा तथा पुरानो संरचना संरक्षणलगायत पूर्वाधार तयार गरिएको छ ।

नेपाल पर्यटन बोर्डमार्फत  ११ लाखको लागतमा ट्रष्ट भवन बनाइएको छभने गाउँपालिकाले पनि विभिन्न संरचना तथा सडक पूर्वाधारमा लगानी गरेको छ । चालु आर्थिक वर्षमा समेत सङ्घीय मन्त्रालयमार्फत डेढ करोड विनियोजन भएको संस्थाका अध्यक्ष पौडेलले जानकारी दिए ।

उनका अनुसार उक्त बजेटले महाशिला परिसरमा पर्खाल निर्माण तथा आश्रम भवनमा आवश्यक सामग्री खरिदलगायतमा खर्चिने भएको छ । केही वषअघिसम्म आवश्यक प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको महाशिलामा अहिले धार्मिक, आन्तरिकसँगै बाह्य पर्यटकसमेत आउन थालेको अध्यक्ष पौडेलको भनाइ छ ।

लुुङ्खुदेउरालीमा पक्की मोटरबाटोको सुविधा पुगेकाले पनि पोखरा, स्याङजा, गुल्मी, बुटवल, पाल्पालगायत जिल्लाबाट सिधैँ पर्यटक आउने गरेको स्थानीय सरस्वती अधिकारीले बताइन् ।

अधिकारीका अनुसार यो महाशिला एकपटक हिँडेर परिक्रमा गर्दा एक माना चामलको भात पाक्ने किंवदन्ती छ । एकपटक घुम्दा १० मिनेटभन्दा बढी समय लाग्ने उनले बताइन् ।

‘बाबुबाजेका पालामा पुजारी बसेर पूजापाठ गरे पनि पछिल्लो समय हराउँदै गएकामा स्थानीय महाशिला गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएसँगै यसको विकास गर्न थालेका हुन् ।

अहिले यहाँ नियमित पूजापाठ हुने गर्दछ । एसियाकै सबैभन्दा ठूलो भएर पनि उचित प्रचारप्रसार हुन नसकेको यो महाशिला पछिल्लो समय निर्माण गरिएका आकर्षण्क संरचनाले पर्यटक तान्न थालेको अधिकारीले बताइन् । उनका अनुसार यहाँ हरेक एकादशी, बालाचतुर्दशी, शिवरात्रि, रामनवमी, अक्षयतृतीयालगायत चाडपर्वमा मेला लाग्ने गर्दछ ।

महाशिला गाउँपालिकाको नामकरण यही शिलाको नामबाट गरिएको हो । एक सय ३० मिटर अग्लो शिला झण्डै १० रोपनी क्षेत्रफलमा फैलिएको छ ।

शिला परिसरमा विभिन्न संरचना निर्माणका लागि स्थानीयवासीले निःशुल्क जग्गासमेत दान गरेका छन् । अहिले शिलाको स्वामित्वमा झण्डै २० रोपनी क्षेत्रफल रहेको अध्यक्ष पुष्पराज पौडेलले बताए ।

महाशिला गाउँपालिकाले यसको विकासका लागि ७० करोडको गुरुयोजनासमेत बनाएको छ । गुरुयोजनाअनुसार काम अघि बढाउँदै लगिएको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए ।

उनले सङ्घ र प्रदेश सरकारसँगको पहलमा गण्डकी प्रदेशकै आकर्षण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना रहेको जानकारी दिए । महाशिलाको दर्शन, अवलोकन र अध्ययनका लागि वार्षिक हजारौँ पर्यटक आउने गरेको उनले बताए ।