थाइल्याण्डमा तीन रोहिङ्ग्या शरणार्थीको मृत्यु



बैङ्कक । थाइल्याण्डमा ट्रकमा लुकिछिपी यात्रा गर्ने क्रममा तीन जना रोहिङ्ग्या शरणार्थीको निस्सासिएर मृत्यु भएको थाई प्रहरीले जनाएको छ ।

घटनासँग सम्बन्धित रहेको आशङ्कामा दुई मानव तस्करलाई शुक्रबार पक्राउ गरिएको छ ।


युद्धग्रस्त पश्चिमी म्यान्मामा मुख्यतया मुस्लिम रोहिङ्ग्या समुदायमाथि अत्यधिक उत्पीडन भइरहेको छ र थाइल्याण्ड हुँदै मलेसिया वा इन्डोनेसिया पुग्न हरेक वर्ष हजारौँले आफ्नो ज्यान जोखिममा पार्दै यात्रा गर्ने गरेका छन् ।

एक भिक्षुले बिहीबार चुम्फोन प्रान्तको एक जङ्गलमा दुई जना मृत शरणार्थी र आठ जना जीवित रहेको देखेको प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थाई प्रहरीले जनाएको छ ।

घाइतेमध्ये एक शरणार्थीको शुक्रबार मृत्यु भएको अस्पतालका एक कर्मचारीले एएफपीलाई बताएका छन् ।

थाइल्याण्ड–म्यान्माको सीमा पार गरेपछि तस्करहरूले २६ जनालाई दुई वटा गाडीमा राखेर लगेको पीडितले प्रहरीलाई बताएका छन् ।

प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “केही घाइते भएको थाहा पाएपछि चालकले रोहिङ्ग्यालाई त्यहाँ फ्याँकेका हुनसक्छन्।”

अधिकारीहरूले दुई जना थाई चालकलाई पक्राउ गरेका छन् र थप अनुसन्धानका लागि उनीहरूका ट्रकहरू जफत गरेका छन् ।समूहका अन्य १६ रोहिङ्ग्याहरू भागेका बताइएको छ ।

सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घमा नरसंहारसम्बन्धी मुद्दाको विषय बनेको म्यान्मा सेनाको कारबाहीका क्रममा हजारौँ रोहिङ्ग्या म्यानमाबाट भागेर छिमेकी मुलुक बङ्गलादेश पुगेका थिए ।

म्यान्माको सेनाले सन् २०२१ मा निर्वाचित सरकारबाट सत्ता कब्जा गरी शासन गर्दै आएको छ । युद्धका कारण लाखौँ रोहिङ्ग्या विस्थापित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here