गणतन्त्र कोरियाली दूतावासद्वारा ‘के–कल्चर’ कार्यक्रम आयोजना



काठमाडौँ । गणतन्त्र कोरिया र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवका अवसरमा कोरियाबाट आएको कुक्किवन तेक्वान्दो डेमोस्ट्रेसन टोलीद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रस्तुति दिएको छ ।

टोलीले गणतन्त्र कोरियाली संस्कृति र तेक्वान्दोलाई प्रवर्द्धन गर्दै नागरिक कूटनीतिज्ञको भूमिकामा विश्वभरका एकसय ५० भन्दा बढी देशको भ्रमण गरिसकेको नेपालस्थित कोरियाली दूतावासले जनाएको छ । नेपाल आएका कुक्किवन तेक्वान्दो प्रदर्शन टोलीले सन् १९७४ देखि नै कोरियाको राष्ट्रिय मार्सल आर्ट तथा उन्नत प्रविधि र सीपलाई तेक्वान्दोको कलात्मक प्रदर्शनमार्फत आफ्नो प्रस्तुति दिँदै आएको छ ।


यसअघि काठमाडौँमा रहेका कोरियाली भोजनालय सञ्चालन एशोसिएशनका तर्फबाट केरियाली खानाका कक्षहरू तथा कोरियाली परम्परागत खेलको प्रस्तुति पनि गरिएको थियो । सो अवसरमा नेपालमा सन् २०२४ का के–पप विजेता टोलीले आफ्नो के–पप नृत्य प्रस्तुत गरेको थियो ।

समारोहमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले दुई देशबिचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको उपलक्ष्यमा दूतावासले सांस्कृतिक, आर्थिक र विकासका क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको बताए । उनले पारस्परिक सहयोगका आधारमा विभिन्न कार्यक्रम गरेर दुई देशबिचको घनिष्ट सम्बन्धलाई थप प्रगाढ बनाउँदै नेपाल र कोरियाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको स्मरण गरे ।

कार्यक्रममा काठमाडौँस्थित कोरियाली समुदाय, उच्चस्तरीय सरकारी अधिकारी, काठमाडौँस्थित कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । त्यसैगरी कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवका अवसरमा ललितपुरको सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा ‘कोरियन एम्बेस्डर तेक्वान्दो च्याम्पियनसीप’ आयोजना हुनेछ । शुक्रबार हुने उद्घाटन समारोहमा दक्षिण कोरियास्थित विश्व तेक्वान्दो मुख्यालयको डेमोस्ट्रेसन टोलीले विशेष कौशल प्रदर्शन गर्ने दूतावासले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here