सहारा मरुभूमिमा अत्यधिक वर्षा : ५० वर्षदेखि सुख्खा रहेको क्षेत्र डुबानमा



मोरक्को । सहारा मरुभूमिमा बितेको पाँच दशकमा पहिलो पटक डुबान भएको छ ।

त्यहाँ दुई दिनसम्म भारी वर्षा भएको र औसतमा एक वर्षमा पर्नेभन्दा बढी पानी परेको हो । जसका कारण मरुभूमिमा दुर्लभ मानिने डुबान भएको हो ।


मोरक्कोको मौसमसम्बन्धी निकायका एक अधिकारी हुसिन यूआबेबले अमेरिकी समाचारसंस्था असोसिएटेड प्रेसलाई बताएअनुसार यति छोटो समयमै यति धेरै पानी परेको ३० देखि ५० वर्ष भइसकेको थियो ।

उत्तरी, मध्य र पश्चिमी अफ्रिकामा एक दर्जन देशमा फैलिएको सहारा मरुभूमिलाई संसारकै सबैभन्दा लामो तातो मरुभूमि मानिन्छ। दक्षिणपूर्वी मोरक्कोलाई संसारको सबैभन्दा सुक्खा ठाउँमध्ये एक मानिन्छ। यहाँ ग्रीष्मयामको उत्तरार्धमा पानी पर्नुलाई दुर्लभ मानिने बीबीसीले उल्लेख गरेको छ । 

मोरक्कोको राजधानी रबाटबाट झन्डै ४५० किलोमिटर दक्षिणमा रहेको ट्यागूनाइटमा २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै वर्षा मापन गरिएको छ। यस्तो वर्षालाई मौसमविद्‌हरूले ‘अतिउष्णक्षेत्रीय आँधी’ (‘एक्स्ट्राट्रपिकल स्टोर्म’) भनेका छन्। मोरक्कोको मौसमसम्बन्धी निकायले असोसिएटेड प्रेसलाई बताएअनुसार हावामा पानीका मात्रा धेरै हुँदा त्यसले वाष्पीकरणलाई प्रोत्साहित गर्छ र थप आँधीबेहरी ल्याउने वातावरण बनाउँछ।

डुबान भएका तस्बिरहरू नासाले हालै सार्वजनिक गरेको छ । भूउपग्रहबाट खिचिएका ती तस्बिरहरूमा जगोरा र टाटा सहरका बीचमा रहेको क्षेत्रमा पानी भरिएको देखिन्छ। यो विगत ५० वर्षसम्म सुक्खा थियो। 

मौसमविज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘डब्ल्यूएमओ’का अनुसार संसारभरि नै वर्षाचक्र छिटो छिटो बदलिने क्रम अहिले बढेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here