ताइवान वरपर चीनको सैन्य अभ्यास



बीबीसी । चीनले टापुराष्ट्र ताइवान वरपर सैन्य अभ्यास गरिरहेको छ। त्यसमा उसका स्थल, जल र वायुसेनाले सहभागिता जनाइरहेका छन् । चीनले आफ्नो सैन्य अभ्यासलाई उक्त स्वशासित टापुको ‘स्वतन्त्रता’ खोज्नेविरुद्धको ‘कडा चेतावनी’ भनेको छ ।

चीनले ताइवानलाई घेरेर सुरु गरेको सैन्य अभ्यासलाई ताइवानका राष्ट्रपति विलियम लाईले गत साता गरेको एउटा भाषणको प्रतिक्रियाका रूपमा हेरिएको छ ।


उक्त भाषणमा उनले ताइवानलाई चीनमा गाभ्ने कार्यको प्रतिरोध गर्ने वाचा गरेका थिए । ताइवानको रक्षा मन्त्रालयले चीनको सैन्य अभ्यासलाई ‘तर्कसङ्गत नभएको र उत्तेजक व्यवहार’ भनेको छ । उसले सैन्य अभ्यासको निन्दा गर्दै आफ्नो रक्षा गर्न आफूहरू तयार रहेको बताएको छ ।

समुद्री तटहरूमा सैन्य अभ्यास भइरहेको भए पनि हवाई तथा सामुद्रिक यातायात सञ्चालनको अवस्था “सामान्य रहेको“ ताइवानको यातायात मन्त्रालयले जनाएको छ । ताइवानको मुख्य सहयोगी देश अमेरिकाले उक्त सैन्य अभ्यासको निगरानी गरिरहेको जनाएको छ ।

चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्त मान्छ र अन्ततः बेइजिङको नियन्त्रणमा ल्याउन सकिने ठान्छ। तर छुट्टै शासनव्यवस्था भएको ताइवानले आफूलाई मुख्यभूमि चीनभन्दा पृथक् ठान्छ ।

यसै वर्षको सुरुमा लाइले ताइवानको राष्ट्रपतिका रूपमा शपथग्रहण गरेका थिए। त्यस बेला पनि चीनले ताइवानको वरिपरि सैन्य अभ्यास गरेको थियो। चिनियाँ सेनाले आफ्नो अभ्यासलाई ‘पृथकतावादी शक्तिहरूको व्यापक प्रतिरोधक’ र ‘सार्वभौमसत्ता रक्षाका लागि राष्ट्रिय एकता कायम राख्ने वैध तथा आवश्यक कार्य’ भनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here