नेपाल र भारतका प्रधानमन्त्रीले शनिबार जयनगर–कुर्था  रेलकाे संयूक्त रुपमा उद्घाटन गर्ने



काठमाडौँ । जयनगर–जनकपुर खण्डमा सञ्चालन हुने रेलको भारत र नेपालका प्रधानमन्त्रीले शनिबार संयूक्त रुपमा उद्घाटन गर्ने भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शुक्रबार  नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदैछन् । भ्रमण कार्यक्रममा रेल उद्घाटनको विषय पनि रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले जनाएको छ । 


तीनदिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल रेल–वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिए ।

महाप्रबन्धक झाका अनुसार रेल सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । रेल सञ्चालनकै लागि गत चैत ८ गते राष्ट्रपति कार्यालयबाट रेलवे अध्यादेश जारी भइसकेको छ । ‘अब रेल चलाउन कुनै समस्या छैन,’ महाप्रबन्धक झाले भने, ‘सबै तयारी पूरा भइसकेको छ, दुई देशका प्रधानमन्त्रीले रेलको उद्घाटन गरेपछि यात्रु बोकेर गुड्ने छ ।’

२०७७ असोजमा जयनगर–जनकपुर खण्डमा चलाउन ल्याइएका दुई वटा रेल सेट लामो समय त्रिपालले छोपेर राखिएको थियो ।