धुम्रपानका कारण आइभोरी कोस्टमा वर्षेनी छ हजारभन्दा बढीको मृत्यु हुने गरेको त्यहाँको प्रमुख वकिलहरूको छाता सङ्गठनले जनाएको छ ।
आइभोरी कोस्टका ‘महिला लयर्स एसोसिएसन’का उपमहासचिव एन्डोसिन टोमोउ डे टुआलीले बुधबार राजनीतिक राजधानी यामुसौक्रोमा एशोसिएशनले सुरु गरेको धुम्रपान विरोधी अभियानका क्रममा उक्त तथ्याङ्क सार्वजनिक गरेका हुन् ।
सङ्गठनले आइभोरी कोस्टमा सुर्तीजन्य पदार्थको सेवन तीव्र गतिमा बढिरहेको भन्दै यसलाई ई–चुरोटलगायत सबै प्रकारका धुम्रपानको जोखिमबारे जनचेतना जगाउन र अकालमा हुने यस्ता मृत्युलाई रोक्न आह्वान गरेको छ ।
सुर्तीविरूद्धको राष्ट्रिय कार्यक्रमका उपसंयोजक ओमर कौलिबालीले भने, “सक्रिय र निष्क्रिय धूम्रपान दुवैले क्यान्सर, कार्डियोभास्कुलर र श्वासप्रश्वाससम्बन्धी रोगजस्ता गम्भीर रोगहरू निम्त्याउँछ। गर्भावस्थाको समयमा धुम्रपान गर्दा भ्रुणमा विकृतिहरू हुन्छन् ।”
उनले ‘युवाहरूलाई जहिल्यै पनि धुम्रपान गर्नबाट रोक्न’ प्रयास गर्नुपर्ने बताए । सन् २०१२ मा सार्वजनिक स्थलमा धुम्रपानमा प्रतिबन्ध र सन् २०१९ मा सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी कानुन लागू भए तापनि आइभोरियालीमाझ धुम्रपान निकै लोकप्रिय छ।