इयुको आप्रवासन सम्झौता अघि बढाउने स्पेनका प्रधानमन्त्रीको चाहना



मेड्रिड । स्पेनका प्रधानमनत्री पेड्रो सान्चेजले बुधबार शरणार्थी र आप्रवासीहरूको अनियमित आगमन व्यवस्थापन गर्ने युरोपेली सङ्घ (इयु) को नयाँ नियमहरू निर्धारित समयभन्दा एक वर्ष अघिनै सन् २०२५ मा लागु गर्न आह्वान गरेका छन् ।

स्पेनले क्यानरी टापूहरूमा आप्रवासी आगमनको वृद्धिसँग सङ्घर्ष गरिरहेको तथा हङ्गेरी र नेदरल्यान्ड्सले इयुको शरणार्थी नियमहरूबाट बाहिरिने प्रयास गरिरहेको बेला उहाँको यो आह्वान आएको हो ।


मे महिनामा अपनाइएको र सन् २०२६ मा लागु हुने इयुका नियमहरूको उद्देश्य २७ मुलुकको समूहभर आतिथ्यताको जिम्मेबारी बाँड्नु र बस्न अयोग्य ठहरिएकाहरूको निर्वासन प्रक्रियालाई तीव्रता दिनु हो ।

‘भूमध्यसागरीय मुलुकहरूले प्राप्त गरिरहेको आप्रवासी प्रवाहको व्यवस्थापनमा सम्पूर्ण युरोप प्रभावकारी होस् भन्ने माग गर्दै हामी ब्रसेल्सबाट सह–जिम्मेबारी र एकताको नीतिको माग गर्दैछौँ’, सान्चेजले भने, ‘यस उद्देश्यका लागि हामी युरोपेली आयोगलाई आप्रवासन र शरणार्थीसम्बन्धी सम्झौताको लागू मिति अगाडि सार्न अनुरोध गर्नेछौँ जसबाट यसका प्रावधानहरू सीमा नियन्त्रण र आप्रवासी वितरण सन् २०२६ को गृष्ममा नभई सन् २०२५ को गृष्ममा कार्यान्वयन हुन थाल्नेछ ।’

इयुको प्रमुख प्रवेशद्वारमध्ये एक स्पेनबाट आप्रवासीहरू युरोपमा राम्रो जीवनको खोजीमा आउँछन् । गृह मन्त्रालयको तथ्याङ्कअनुसार यस वर्षको पहिलो नौ महिनामा ३० हजार आठ सय आठ आप्रवासी क्यानरी टापूहरूमा अवतरण गरे । यो अघिल्लो वर्षको समान अवधिमा आएको सङ्ख्याको दोब्बरभन्दा बढी हो । क्यानरी टापूहरू अफ्रिकाको उत्तरपश्चिम तटबाट नजिकमा पर्दछन् ।

सन् २०२३ मा करिब ४० हजार आप्रवासी यस टापू समूहमा प्रवेश गरेका थिए र यो यस वर्ष तोडिने क्रममा छ ।

क्यानरीको क्षेत्रीय सरकारले दुई हजारको आफ्नो क्षमताभन्दा धेरै करिब पाँच हजार पाँस सय आप्रवासी नाबालिगको हेरचाहमा रहँदा कहालीलाग्दो भएको बताएको छ ।

आगमन वृद्धिले स्पेनमा मतदाताहरूको चिन्ताको शीर्ष स्थानमा आप्रवासनलाई पुर्याएको छ । मङ्गलबार दैनिक पत्रिका एल पाइसमा प्रकाशित एक सर्वेक्षणअनुसार ५७ प्रतिशत स्पेनीले स्पेनमा धेरै आप्रवासी छन् भन्ने विश्वास गर्छन् भने ४१ प्रतिशतले आप्रवासीहरूबारे ‘चिन्तित’ रहेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here