पाकिस्तानमा भएको आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा



संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा आइतबार राति भएको आतङ्वादी हमलाको कडा निन्दा गरेको छ । आक्रमणमा दुई जना चिनियाँ लगायत धेरैजना पाकिस्तानी नागरिकहरूको मृत्यु हुनुका साथै कयौँ पाकिस्तानी नागरिकहरू घाइते भएका छन् ।

सुरक्षा परिषद्का सदस्यहरूले “जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल, कराँची, पाकिस्तान नजिकै भएको हमलाको एक विज्ञप्तिमार्फत निन्दा गरेका छन् । विज्ञप्तिमा भनिएको छ, “पीडित परिवार तथा चीन र पाकिस्तानका सरकारप्रति समवेदना व्यक्त गरेका छन् भने घाइतेहरूको शीघ्र तथा पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् ।”


परिषद्का सदस्यहरूले आतङ्वादको सबै रूप तथा अभिव्यक्ति अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि गम्भीर खतरा भएको दोहोर्‍याउदै आतङ्वादमा अपराधी, र प्रायोजकलाई जवाफदेही बनाउन कानुनी दायरामा ल्याउन आवश्यक रहेको उल्लेख गरेका छन् ।

यसैगरी अधिकारीहरुले सबै राज्यहरूलाई अन्तर्राष्ट्रिय कानून र सुरक्षा परिषद्का प्रस्ताव अन्तर्गतका दायित्वहरू अनुसार चीन र पाकिस्तानका सरकारसहित अन्य सान्दर्भिक अधिकारीहरूसँग सक्रिय रूपमा सहयोग गर्न आग्रह गरेका छन् ।

सुरक्षा परिषद्का सदस्यहरूले आतङ्वादको कुनै पनि कार्य आपराधिक र अन्यायपूर्ण रहेको ठहर गर्दै सबै राष्ट्रहरूले संयुक्त राष्ट्रको बडापत्र र अन्तर्राष्ट्रिय कानून अन्तर्गतका अन्य दायित्व अवलम्बन गर्दै आतङ्वादले अन्तर्राष्ट्रिय शान्ति–सुरक्षामा हुने खतराविरुद्ध लड्नुपर्ने आवश्यकतामा जोड दिए ।

उक्त आतङ्कवादी हमलाको प्रतिबन्धित सङगठन बलुचिस्तान लिबरेसन आर्मीले जिम्मेवारी लिइसकेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here