साङ्घाइमा पुनः केही दिनका लागि चरणबद्ध लकडाउन गरिने



चीनको सबैभन्दा ठूलो सहर साङ्घाईले नयाँ भेरियन्ट ओमिक्रोनका कारण फैलिएको कोभिड–१९ रोक्न चरणवद्ध लकडाउन गर्ने भएको छ । सोमबारदेखि सुरु हुने कोभिड परीक्षणको पाँच दिनका लागि यसको पूर्वी भागमा सुरूमा लकडाउन गरिने स्थानीय प्रशासनले जनाएको छ । त्यस्तै, पश्चिमी भागमा १ अप्रिलदेखि लकडाउन हुनेछ ।

२ करोड ५० लाख जनसङ्ख्या भएको महानगर पछिल्ला दिनमा राष्ट्रव्यापी प्रकोपको प्रमुख केन्द्र बनेको छ । चीनमा आइतबार एकै दिन कोभिडका चार हजार ५०० सङ्क्रमित देखिएको यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । यो अघिल्लो दिनको तुलनामा एक हजार कम हो । सङ्क्रमण बढेसँगै विभिन्न सहरमा लागू भएका लकडाउनका कारण दशौँ हजार चिनियाँ प्रभावित भएका छन् ।