जुम्ली घोडा संरक्षण गर्न गुठिचौरमा घोडा दौडको तयारी



जुम्ला । जुम्लाको गुठिचौर गााउँपालिका–२ स्थित गुठिचौरमा जुम्ली घोडाको संरक्षण र पहिचान स्थापित गर्न घोडा दौड प्रतियोगिता हुने भएको छ ।

कर्णाली खेलकुद क्लब र गुठिचौर युवा क्लबको संयुक्त आयोजनामा यही असोज २४ फूलपातीका दिन सातौँ जुम्ली घोडा दौड प्रतियोगिता हुने कर्णाली खेलकुद क्लबका उपाध्यक्ष नवीन थापाले जानकारी दिए ।


दौड प्रतियोगितामा प्रथम हुनेलाई रु १५ हजार, दोस्रोलाई रु १० हजार र तेस्रोलाई रु पाँच हजार राशि पुरस्कार प्रदान गरिने उनले बताए । यसका लागि गुठिचौर गाउँपालिका र पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाले आर्थिक सहयोग गरेका छन् । अहिलेसम्म ४५ वटा घोडा दर्ता भइसकेको कर्णाली खेलकुद क्लब जुम्लाले जनाएको छ ।

जुम्ली घोडाको संरक्षण, पहिचान र प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उक्त दौड आयोजना गरिएको हो । “हाम्रा मौलिकता लोप हुने स्थितिमा पुगेका छन् । तीन तहकै सरकारले आवश्यक सहयोग गरेका छैनन्”, पशुसेवा कार्यालयका प्रमुख ज्ञानेन्द्र बढ्थापाले भने, “दौडले पुरानो संस्कृतिलाई बचाइराख्न मद्दतसमेत गर्छ । घोडा दौड प्रतियोगिता जुम्लाको पुरानो संस्कृति हो । हरेक वर्ष दसैँको फूलपातीको दिनमा घोडा दौड प्रतियोगिता हुँदै आएको छ ।”

यसअघि जुम्लाको विमानस्थलमा घोडा दौड प्रतियोगिता गर्ने गरिएको थियो । विमानस्थल कालोपत्र गरिएयता घोडा दौड प्रतियोगिता त्यहाँ आयोजना गर्न रोकिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here