विपद्लाई राजनीतिकरण नगरौंः गृहमन्त्री लेखक



धुलिखेल । गृहमन्त्री रमेश लेखकले बाढीपहिरोबाट पीडित भएको बेलामा पक्ष विपक्ष, राजनीति र आग्रह पूर्वाग्रहमा बसेर काम नगर्न आग्रह गरेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकको बैठकलाई सोमबार सम्बोधन गर्दै गृहमन्त्री लेखकले पीडा कुनै एक पार्टीको मान्छेलाई मात्रै भएको नभई सबैको एउटै समस्या भएकाले विपद्लाई राजनीतिकरण नगर्न आग्रह गरे ।


सबै मिलेर काम गर्नुपर्ने अहिलेको अवस्था भएकाले विपद् र पीडामा परेकालाई राहत दिन सक्नुपर्नेमा जोड दिँदै मन्त्री लेखकले विपद्का बेलामा सबै मिलेर व्यवस्थित ढङ्गले काम गर्ने बताए ।

खोजी र उद्धारको काम निरन्तर चलिरहने भन्दै उनले अहिलेको अवस्था विस्तापित भएका, घर ध्वस्त भएर सुत्ने, खानेपानी, औषधि लुगाफाटोको व्यवस्था हुन नसकेकालाई राहतको व्यवस्था गर्ने चरणमा रहेको बताए ।

‘हामी अहिले अत्यावश्यक मानवीय सेवा सञ्चालन गर्नुपर्ने अवस्थामा छौँ,’ उनले भने, ‘राहत, अवरुद्ध सडक सञ्चालन गर्ने, दूरसञ्चार सेवा, विद्युत्, स्वास्थ्य सेवालगायतका कामलाई प्राथमिकता दिएर काम गर्न जरुरी छ ।’

वितद् व्यवस्थापनका लागि चार वटा तह रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले सङ्घमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सङ्घमा विपद् व्यवस्थापन परिषद् र प्रदेशमा कार्यकारी समिति, जिल्ला विपद् व्यवस्थापन समिति र पालिकास्तरमा स्थानीय विपद् व्यवस्थापन समितिले सबैले आ–आफ्नो तहबाट समन्वयकारी भूमिका निर्वाह गरेर समस्याको समाधान गर्ने काम भइरहेको बताए ।

विपद्मा परेका परिवारलाई दुई लाख राहत दिने भनेर सरकारले गरेको निर्णयलाई कार्यान्वयन गर्नका लागि सम्बन्धित पालिकाले विवरण उपलब्ध गराएर प्रमुख जिल्ला अधिकारीमार्फत तत्काल वितरण गर्ने र घर पूर्णरुपमा क्षति भएर अर्को बस्नयोग्य घर नभएकालाई स्थानीय तहले पहिचान गरेर सिफारिस गरेर पठाएको आधारमा तीन दिनभित्रमा अस्थायी घर निर्माणको लागि पहिलो किस्ता २५ हजार उपलब्ध गराउने उहाँले प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै खाद्यन्नको लागि पाँच जनासम्मको परिवार भएकालाई १५ हजार र त्यसभन्दा बढी भएमा ३० हजार रुपैयाँका दरले उपलब्ध हुने मन्त्री लेखकले जानकारी गराए । त्यसका लागि स्थानीय तह, प्रदेश र सङ्घले आ–आफ्नो काम तत्काल गर्न उनले निर्देशन दिए ।

सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने क्रममा काभ्रेपलाञ्चोकका केही पालिकामा मात्रै भएको र अरु पनि पालिका र वडाभित्र मात्रै भएको अवस्थामा त्यसलाई पनि समेट्नु पर्ने माग राखिएकामा मन्त्री लेखकले त्यसलाई प्रमुख जिल्ला अधिकारीबाट सिफारिस गरेर पठाउन आग्रह गरे ।

‘अहिलेसम्म जति घोषणा भएका छन्, त्यसबाहेक थप पालिकालाई पनि विवरण प्राप्त भएपछि सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सकिने भनेर निर्णय गरेको हुनाले छुटेकालाई प्रक्रियामार्फत आएको खण्डमा त्यसलाई समावेश गरिनेछ,’ उनले भने ।

उनले खाद्यन्न पुर्याउन बाटो नभएका पालिकामा पुर्याउनका लागि हेकिप्टरमार्फत व्यवस्थापन हुने जानकारी दिनुभयो । त्यससँगै गर्नुपर्ने क्षेत्रगत काम (विद्युत्, सडक, सञ्चार, खानेपानी र स्वास्थ्य)लाई तीव्रता दिन सम्बन्धित निकायलाई उनले निर्देशन दिए ।

बैठकमा सङ्घीय सांसद सूर्यमान दोङले विपद्को बेलामा काम गरिरहेको सुरक्षा निकायलाई आवश्यक व्यवस्थापन गर्न नसकिएको उल्लेख गर्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिए ।

उनले व्यवस्थापनको सवालमा कतै बस्ति नै व्यवस्थापन गर्नुपर्ने, सडक सञ्जालको तत्काल व्यवस्था, विद्युत् नभएर सबैजसो पालिका अन्धकारमय भएको सबै काममा सरकार गम्भीर भएर लाग्नुपने बताए ।

खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले सडक, विद्युत्, सञ्चार पूरै बन्द रहेको कारण सबैतवरबाट पालिका खेबरजस्तै भएको बताए । सडक सञ्जालको लागि खोपासी–तालढुङ्गा, च्याल्टी–तालढुङ्गा र सुकमफेदी–तालढुङ्गा तीन वटा नै नाका पूर्णरुपमा बन्द रहेकाले समस्याग्रस्त रहेको उनले बताए ।

खुलेखानी ड्यामबाट बगेको पानीले वाग्मती खोलामा आएको बाढीबाट खानीखोलाको दुईवटा वस्ती पूर्णरूपमा बगाएको, बाढीपहिरोबाट ३० वटाभन्दा बढी खानेपानीको संरचना, तीन सय किलोमिटरभन्दा बढी स्थानीय सडक क्षति, सिँचाइका २५ र विद्यालयको पाँच वटा र लघुजलविद्युतका साट वटा संरचना ध्वस्त भएको पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न आग्रह गरे ।

विपद् क्षेत्रका जनताले दसैँका लागि चामल र चिउराको बन्दोबस्ति गर्न सक्ने अवस्था नरहेको भन्दै अध्यक्ष थिङले स्थिति भयाभह रहेकामा स्थानीय चौकीमा रहेको सुरक्षाकर्मी बाहेक थप सुरक्षा जनशक्ति नपुगेको, जिल्लाका कुनै पनि राजनीतिक नेतृत्व नपुगेको तथा सञ्चार सम्पर्क विहीन भएकाले त्यहाँको तथ्य सूचना अहिलेसम्म आउन नसकेको भन्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामाले बिपी राजमार्ग वैकल्पिक बाटोबाट नार्केसम्म पुगे पनि भरपर्दो नभएको र क्षतिको विवरण ल्याउन वल्लो घरदेखि पल्लो घरसम्म जान नसक्ने स्थिति रहेको बताए ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले काभ्रेपलाञ्चोक जिल्लालाई पूरै सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए ।

बैठकमा प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री तीर्थबहादुर लामा, कञ्चनचन्द्र बादे श्रेष्ठ, रुक्कु चौलागाई, बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्य, नेकपा (माओवादी केन्द्र)का जिल्ला अध्यक्ष भोला अर्याल, नेकपा (एमाले)का अध्यक्ष राजन भुर्तेललगायतले विपद्का समयमा सरकारले गम्भीर भएर उद्धार, खोज, राहत, अस्थायी बासस्थान तथा पुनःबासको लागि ध्यान दिन आग्रह गरे । काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जिल्लामा भइरहेको विपद् व्यवस्थापनको गतिविधि र गरिरहेको प्रगतीको बारेमा जानकारी दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here