शेखरकाे प्रश्न – गठबन्धन किन र केका लागि गर्ने ?



काठमाडाैँ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले सोमबार केन्द्रीय पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कमिटीको बैठकमा गठबन्धन किन गर्ने र केका लागि गर्ने भनेर प्रश्न गरेका छन् ।

‘गठबन्धन कोसँग, किन, केका लागि गर्ने हो ? किन आवश्यक हो ?,’ बैठकमा प्रश्न गर्दै नेता कोइरालाले भने, ‘अरु पार्टीसँग गठबन्धन गर्नुभन्दा आफ्नै पार्टीभित्रको एकतामा किन जोड नदिने ? त्यसतर्फ ध्यान दिँदा के हुन्छ ?’


उनले प्रश्न गरे, ‘सभापतिले एमाले बलियो भनेपछि कार्यकर्ताको मनोबल कसरी बढाउनु ? काँग्रेसको नीति र सिद्धान्तलाई तिलाञ्जली दिएर कसरी माओवादीलाई बोक्न सकिन्छ ?’

उनले केन्द्रबाट गठबन्धन गर्छु भनेर निर्णय गर्दा तल्ला तहका कार्यकर्ताबीच भावनात्मक एकता हुन नसक्ने र त्यसले नतिजा प्रभावित हुने बताएका थिए । ‘गठबन्धन गर्ने भनेर यहाँबाट निर्णय गर्दा तलका कार्यकर्ताबीच एकता हुन सकेन भने के हुन्छ ? त्यसपछिको अवस्थाबारे कसले जिम्मेवारी लिन्छ ? हामीले त्यता ध्यान दिन जरुरी छ,’ उनले भने, ‘यसरी केन्द्रबाट गठबन्धन गर्ने भन्ने निर्णय गरेर लाद्ने काम नगरौँ ।’