विश्वशान्ति र समृद्धिका लागि चुनौती बढ्दो: मन्त्री डा. राणा



काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विश्वमा शान्ति र समृद्धिको प्राप्तिका लागि एसियाली क्षेत्र एवं विश्वमै चुनौती बढिरहेको बताएकी छिन् ।

कतारको दोहामा आयोजित एसिया कोर्पोरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनलाई आज सम्बोधन गर्दै मन्त्री डा राणाले पछिल्लो समय विश्वका विभिन्न क्षेत्रमा बढ्दो द्वन्द्व तथा भू–राजनीतिक अवस्थालगायत कारण शान्ति र समृद्धिको प्राप्ति जटिल बन्दै गएको उनिले धारणा राखिन् ।


उनले भनिन्, “लामो समयदेखिका द्वन्द्व, भू–राजनीतिक अवस्था, प्रतिद्वन्द्विता, आतङ्कवाद, प्राकृतिक प्रकोपजस्ता कारण विश्वव्यापी शान्ति, सुरक्षा र समृद्धिका बाधक बनिरहेका छन् । अन्तर्राष्ट्रिय सङ्गठित अपराध अर्को यस्तै समस्या बनेको छ ।

एसियाली क्षेत्रमा पनि शान्ति र समृद्धिको प्राप्तिका लागि यस्तै धेरै समस्या छन् ।”अहिलेको विश्वले बढ्दो ध्रुवीकरण र विभाजनको सामना गर्नु परिरहेको तथा एसियाली क्षेत्रमा बढ्दो रुपमा देखिएको युद्ध र द्वन्द्वको अवस्था ठूलो चिन्ताको विषय भएको मन्त्री डा राणाको भनाइ राखेकी थिइन् ।

उनले भनिन्, “हामी अझै पनि सन् २०३० सम्म विश्वव्यापी दिगो विकासका लक्ष्य पूरा गर्नसक्ने अवस्थामा देखिएका छैनौँ । ती लक्ष्यबाट हामी अझै धेरै टाढा छौँ । त्यसैले हामी एसियाली देशहरु भोलिको पुस्ताको सुरक्षित भविष्यका लागि सहकार्य र एकताकासाथ काम गर्नुपर्ने अवस्था छ ।”

साथै जलवायु परिवर्तन अहिलेको विश्वको एक प्रमुख चुनौती बनिरहेकाले यसको समाधानका लागि तत्कालै प्रभावकारी कदम चाल्नुपर्नेमा उनले जोड दिइन् ।

जलवायु परिवर्तनको असरबाट विश्वका अतिकम विकसित, भू–परिवेष्टित, साना टापु राष्ट्रलगायत बढी समस्यामा परेकाले  तिनको समस्या समाधानका लागि विश्वका विकसित देशले ध्यान दिनुपर्ने र उनीहरुले यी देशहरुलाई गर्नुपर्ने प्रतिबद्धताबमोजिमको सहयोग उपलब्ध गराउनुपर्ने बताइन् ।

यी समस्याहरु हुँदाहुँदै पनि शान्तिपूर्ण र समृद्ध एसियाका लागि ‘एसिडी भिजन २०३०’ को मान्यताअनुसार अघि बढ्न एसियाली देशहरुसँग अवसर पनि रहेकाले यसका लागि सबैको एकता र सहकार्य आवश्यक रहेको पनि उनले बताइन् ।

मन्त्री डा. राणाले भनिन, “एसिया प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा, परम्परागत ज्ञान र नवीन प्रविधिको धनी एवं युवा तथा गतिशील जनसङ्ख्या रहेको क्षेत्र भएकाले यसले विकास र समृद्धि हासिल गर्न अप्ठयारो छैन । सहकार्य र एकताका साथ भोलिको पुस्ताका लागि हामीले काम गर्नुपर्दछ ।”नेपाल सदैव बहुपक्षीयता र क्षेत्रीय सहयोगको पक्षमा रहिआएको र सन् २०१६ मा एसिडीमा आबद्ध भएदेखि नै यसका उद्देश्यहरु पूरा गर्ने पक्षमा उभिँदै आएको उनले बताइन् ।

भोलिका दिनमा पनि ‘एसिडी भिजन २०३०’ पूरा गर्न नेपाल सदैव एसिडीसँगै रहने मन्त्री डा राणाले बताइन् ।साथै मन्त्री डा. राणाले खेलकुदका माध्यमबाट सामाजिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नै एकता र सद्भाव कायम गर्न सहयोग पुगेको धारणा राखिन् । उनले भनिन, “मानव सभ्यतासँगै विकास भएको खेलकुदले नागरिकबीच बढ्दो द्वन्द्वको अवस्थालाई रोक्न, तनाव कम गर्न र विभिन्न देशबीच मित्रताको वातावरणलाई प्रवद्र्धन गर्न सहयोग पुर्‍याएको छ ।”

खेलकुद कूटनीतिलाई एसिडीको तेस्रो सम्मेलनको ‘थिम’का रुपमा अघि सारेकामा यसको नेतृत्वलाई धन्यवाद दिँदै एसिडी समूहको उन्नतिका लागि खेल कूटनीतिले आगामी दिनमा थप सहयोग पुर्‍याउने मन्त्री डा. राणाले बताइन् ।

उनिले भनिन, “खेलकुदले कुनै पनि व्यक्तिको सामाजिक पहिचानको निर्माण गर्दछ । खेलका माध्यमबाट सामाजिक एकता र सद्भाव निर्माण हुने गरेको छ । त्यसैले एसियाली क्षेत्रको सामूहिक विकासका उद्देश्य हासिल गर्नका लागि पनि खेलकुद कूटनीति अहिलेको एक सान्दर्भिक विषय हो ।”

मन्त्री डा.राणाले खेलकुद कूटनीतिलाई अगाडि बढाउन महिला र अपाङ्गता भएका व्यक्तिको सहभागिता बढाउनुपर्ने, खेलकुदलाई सांस्कृतिक पहिचानको प्रवद्र्धन गर्ने माध्यमका रुपमा विकास गर्नुपर्ने तथा खेलाडीलाई सद्भावना दूतका रूपमा नियुक्त गर्ने परिपाटीको विकास गर्नुपर्ने बताइन् । त्यसैगरी द्वन्द्व प्रभावित क्षेत्रमा शान्तिका लागि सघाउन खेलकुदका कार्यक्रम आयोजना गर्नुपर्ने मन्त्री डा. राणाले सुझाव दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here