ऊर्जामन्त्री खड्कासँग नर्वेका राजदूत द्रामदलको शिष्टाचार भेटवार्ता

उर्जामन्त्री खड्कासँग नर्वेका राजदूत द्रामदलको शिष्टाचार भेटवार्ता काठमाडौँ, १५ असोजः ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्कासँग मङ्गलबार सिंहदरबारस्थित मन्त्रालयमा नेपालका लागि नर्वेका राजदूत तोरुण द्रामदलको शिष्टाचार भेटवार्ता । तस्बिरः अच्युत रेग्मी÷रासस


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि नर्वेका राजदूत तोरुण द्रामदलबीच शिष्टाचार भेट भएको छ । त्यस अवसरमा उनीहरूबीच नेपाल–नर्वे सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।

नर्वे नेपालको महत्वपूर्ण विकास साझेदार भएको तथा ऊर्जा क्षेत्रमा ६० वर्षभन्दा बढी समयदेखि नर्वे सरकारको सहयोग रहेको बताए । दिगो ऊर्जा र आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न तथा जलविद्युत् उत्पादनमा नर्वे सरकारको योगदान अमूल्य रहेको भन्दै मन्त्री खड्काले त्यसको सराहना गरे ।


नेपालको जलविद्युत्, प्रसारण र वितरणमा रोजगारीका लागि तालिम कार्यक्रम, सिभिल, इलेक्ट्रिकल र हाइड्रोमेकानिकल क्षेत्रमा स्थानीय विशेषज्ञता विकास गर्न नर्वेको सहयोगले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । तिनाउ, आँधीखोला, झिम्रुक, खिम्ती, माथिल्लो तामाकोशीलगायत ठूला जलविद्युत् आयोजना र लघु जलविद्युत् आयोजना निर्माणमा नर्वे सरकारको सहयोग छ ।

मन्त्री खड्काले विद्युत उत्पादन क्षमता विस्तार गर्नुका साथै प्रसारण लाइन, सबस्टेशन र ग्रामीण विद्युतीकरणमा तत्काल सुधार गर्नुपर्ने आवश्यकता रहेको भन्दै उक्त कार्यमा नर्वेको सहयोगको अपेक्षा गरेको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ ।

राजदूत द्रामदलले नेपालको जलविद्युत् क्षेत्रको विकासका लागि नर्वे सरकारको सँधै साथ र सहयोग रहने बताए । उनले नेपाली विद्यार्थीलाई नर्वेमा जलविद्युत्सम्बन्धी उच्च शिक्षा अध्ययनार्थ छात्रवृत्ति प्रदान गर्दै आएको उल्लेख गरे । उनले आगामी दिनमा प्रसारण लाईनको विकासमा समेत नर्वे सरकारले सहयोग गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here