ओली कम्युनिष्टको आवरणमा जन्मिएका तानाशाह : अध्यक्ष नेपाल



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष ओलीलाई रावणसँग तुलना गरेका छन् । आइतबार काठमाडौंमा भएको समाजवादी प्रेस संगठन, नेपालको प्रथम विस्तारित बैठकमा अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीलाई रावणसँग तुलना गरेका हुन् ।

उनले रावण, कंश र शिशुपालले गरेका गल्तीहरु ओलीले गरिरहेको भन्दै उनीहरुसँग तुलनात्मक रुपमा अध्ययन गरेर देखाउन आवश्यक रहेको बताए । अध्यक्ष नेपालले ओली कम्युनिष्टको आवरणमा जन्मिएको तानाशाह भएको टिप्पणी गरे । उनले हिटलर डेमोक्रेसीको आवरणमा तानाशाह बनेको उदाहरण दिँदै ओलीले पनि त्यही प्रवृत्ति गरिरहेको आरोपसमेत लगाए ।


उनले भने, ‘केपीको बारेमा चर्चा गर्दा ठ्याक्क रावणमा के के प्रवृतिहरु देखिए, कंशमा के के प्रवृतिहरु देखिए, शिशुपालले सय वटा के के अपराध गर्यो ? र हिटलरले के के कुकृत्य गरेको थियो ? ठ्याक्क त्यसलाई तुलनात्मक अध्ययन गरेर केपी ओलीलाई देखाउनुस् ।यो पात्र विशेषमा उत्पन्न भएको विकृत प्रवृति हो ।’