बागलुङका ग्रामीण सडक तीन महिनादेखि ठप्प



बागलुङ । बागलुङका अधिकांश ग्रामीण सडक तीन महिनादेखि अवरुद्ध छन् । वर्षात्का कारण ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएका सडक वर्षा नरोकिँदा स्थानीय तहले खुलाउन सकिरहेका छैनन् ।

चार नगरपालिका र छ गाउँपालिका रहेको बागलुङमा अधिकांश बस्तीसम्म सडक पुगे पनि हिउँदको समयमा यातायात सञ्चालन हुन्छन्, बर्खाको करिब चार महिना ठप्प हुन्छन् ।


बर्खामा सबैभन्दा कम तमानखोला गाउँपालिकामा सवारीसाधन सञ्चालन हुने गरेका स्थानीय बताउँछन् । तमानखोलामा गाउँपालिकाको केन्द्र बोङ्गा दोभान बजारबाट वडा नं १ को स्याउला, पहिरागाउँ, वडा नं ३ को तमान, ४ को हिले लाम्मेला, वडा नं ५ को खुङ्खानीथास्पुरी र वडा नं ६ को नर्जाखानी, भित्रिवनपात्लेलगायत गाउँमा पुग्ने सडक ठप्प भएका तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए ।

जिल्लाका ग्रामीण सडकमा स्थानीय खोलामा पानीको बहाव नघट्दासम्म सञ्चालनमा आउनसक्ने स्थिति नरहेको उनले बताए । असोजको अन्तिम सातासम्म खोलामा पानीको बहाव घट्ने र पहिरोले अवरुद्ध भएको सडक खुलाएपछि सवारीसाधन सञ्चालनमा आउने बुढामगरले बताए ।

“तीन वर्ष अगाडिसम्म बुर्तिबाङ बजारबाट पालिकाको केन्द्र बोङ्गा दोभानसम्म पुग्न दुई स्थानमा गाडी परिवर्तन गर्नुपर्थ्यो । ढोरपाटन नगरपालिका–४ हुन्द्राफेँदी र भालिबाङ खोलामा दुई मोटरेबल पुल निर्माण भएपछि बाह्रै महिना यातायात सञ्चालन हुन थालेका छन्”, उनले भने ।

अहिले पालिकाको केन्द्रबाट वडा नं २ को खोलेस्बाङबाहेक अन्य सबै वडामा बर्खामा सिधा यातायात सञ्चालन हुन सक्दैन । वडा नं ३ को तमान गाउँ पुग्नका लागि बुर्तिबाङबाट खुङ्गा हुँदै सिधा यातायात सञ्चालन भए पनि पालिकाको केन्द्रबाट भने हुन सक्दैन । सबैभन्दा टाढाको गाउँ नर्जाखानी, पात्ले र भित्रिवन पुग्न पाँच वटा मोटरेबल पुलको आवश्यकता पर्ने तमानखोला गाउँपालिकाका अध्यक्ष बुढामगरले जानकारी दिए ।

उनका अनुसार वडा नं ५ को खुङ्खानी पुग्न तीन, पहिरा पुग्न तीन, स्याउला र हिजा पुग्न एउटा पुल आवश्यक छ । अहिलेसम्म एक स्थानमा पुल बने पनि अरू स्थानमा पुल नबन्दा स्थानीय मर्कामा परेका अध्यक्ष बुढामगरले बताए ।

“तमान खोलामा छरिएर रहेका गाउँ र बस्ती पनि छरिएका छन्, सबैतिर सडकको पहुँच पुगे पनि स्रोतसाधनको अभावले खोलामा पुल बनाउन सकिएको छैन । यहाँ करिब एक दर्जन पुल निर्माण हुनुपर्ने हो, सबै पुल बनाउन पालिकासँग बजेट छैन”, अध्यक्ष बुढामगरले भने, “प्रदेश र केन्द्र सरकारसँग माग गरिरहेका छौँ, बर्खाको करिब तीन महिना गाउँमा गाडी नचल्दा स्थानीयले समस्या भोग्नुपरेको छ ।”

जिल्लाको बडिगाड गाउँपालिकामा यस वर्ष पहिराले सडकमा ठूलो क्षति पुर्‍याएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन् । यस वर्षको वर्षाले ग्रामीण सडक भत्किँदा करिब रु १५ करोडको क्षति भएको उनले बताइन् ।

पालिकाले बर्खाले बिगारेको सडक मर्मतका लागि रु ६० लाख विनियोजन गरे पनि उक्त बजेटले केही ठाउँमा मात्रै सडक सञ्चालनमा ल्याउन सकिने अध्यक्ष अधिकारीले बताइन् । गाउँपालिकाभित्र रहेका दर्लिङ, नयाँ गाउँ, मालारानी, आरुपाटा, निगल पानी पुग्ने सडक पूर्ण रूपमा ठप्प भएका उनले जानकारी दिइन् ।

“यो वर्ष बडिगाडमा बाढीपहिरोले सडकमा ठूलो क्षति पु¥याएको छ, चाडवाड नजिक आइरहेका छन् । वर्षा नरोकिँदा सडक मर्मतमा समस्या भइरहेको छ । दुई साता अघि पानी पर्न कम भएपछि अवरुद्ध सडक खुलाउने तयारी गरे पनि अहिले पुनः वर्षा भएर सम्भव भएन्”, अध्यक्ष अधिकारीले भनिन्, “असारको दोस्रो हप्तादेखि बडिगाडका ग्रामीण सडक बन्द छन् । चाडबाड दैनिक उपभोग्य वस्तु ढुवानी गर्न कठिन भएको छ, हामी सडक सञ्चालन गर्न प्रयासरत छौँ ।”

जिल्लाको तमानखोला, निसीखोला, काठेखोला, ताराखोला र बरेङ गाउँपालिका तथा बागलुङ, गलकोट, जैमिनी र ढोरपाटन नगरपालिकाका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् । तीन महिनादेखि गाउँमा आउने सडक पूर्ण रूपमा बन्द हुँदा सामान ढुवानी गर्न समस्या भएको तमानखोला गाउँपालिका–६ का पूर्णबहादुर छन्त्यालले बताए । हिउँदको समयमा जसोतसो गाडी सञ्चालन भए पनि बर्खामा ठप्पै हुने बताउँदै दशक अगाडि गाउँमा सडक नपुग्दा पैदल हिँडेरै बजार पुगेर सामान ल्याउने गरेको उनले स्मरण गरे ।

छन्त्यालले भने, “दसैँ आयो, बर्खा नलाग्दै बजारबाट ल्याएको सामान सबै सकिन थाल्यो । पानी निरन्तर परिरहेकाले खोलाको पानी घटेको सम्भावना अझै छैन, बर्खामा स्थानीयले धेरै समस्या भोग्नुपरेको छ ।” सडक मर्मत गरी आवागमन सहज बनाउन उनले सरोकार भएका निकायलाई आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here