युरोपको प्रयोगशाला सिइआरएनले रुससँग सम्बन्ध तोड्दा करिब ५०० वैज्ञानिक प्रभावित हुने



जेनेभा । युरोपको भौतिकशास्त्र प्रयोगशाला सिइआरएनले नोभेम्बरको अन्त्यमा योजनाअनुसार रुससँगको सहकार्य तोड्दा रुसी संस्थानहरूसँग सम्बद्ध करिब पाँच सय वैज्ञानिक प्रभावित हुने बताएको छ ।

सिइआरएनको निर्णय लिने संस्थाले युक्रेनमा युद्धका कारण सन् २०२२ जुनमा रुस र उसको सहयोगी बेलारुससँगको सहकार्य सम्झौताहरू अन्त्य गर्ने निर्णय गरेको थियो ।


सिइआरएनका अनुसार यसरी बेलारुसको पाँच वर्षको सम्झौता गत जुन २७ मा समाप्त हुँदा नवीकरण गरिएको थिएन र रुससँगको सम्झौता नोभेम्बर ३० मा समाप्त भएपछि यसलाई अगाडि बढाइने छैन ।

कथित रूपमा यसले पहिले नै करिब १५ बेलारुसी वैज्ञानिकलाई सिइआरएनसँगको सहकार्यबाट रोकेको छ र चाँडै सयौँ रुसी वैज्ञानिकले पनि यस्तै परिस्थितिको सामना गर्नेछन् ।

“यो रुसी संस्थानहरूसँग सम्बन्धित आज पाँच सयभन्दा कम वैज्ञानिकमा लागु हुनेछ, तिनीहरूले यस्तो सहयकार्य रोक्नुपर्नेछ”, सिइआरएनका प्रवक्ता आर्नोड मार्सोलियरले भने ।

ती वैज्ञानिकहरू अहिलेसम्म विश्वभरका करिब १७ हजार शोधकर्ताहरूको समुदायमा समावेश थिए । तीमध्ये अधिकांश आफ्नै होस्ट संस्थान वा प्रयोगशालबाट काम गर्दै सिइआरएन सम्बद्ध प्रयोगहरू र तथ्याङ्क विश्लेषण कार्यहरूमा सहभागी हुन्थे ।

सिइआरएनको निर्णय लिने परिषद्ले गत डिसेम्बरमा रुससँगको सहयकार्य तोड्ने निर्णयलाई अन्तिम रूप दिँदा उसले जोड दिँदै ‘अन्य संस्थानहरूसँग सम्बद्ध रुसी राष्ट्रियताका वैज्ञानिकहरूसँगको सम्बन्धलाई प्रभावित नगर्ने’ बताएको थियो ।

करिब ९० रुसी अन्य प्रयोगशालामा सरेको अनुमान गर्दै मार्सोलियरले उनीहरूले आफ्नो सहयकार्य जारी राख्न सक्ने बताए ।

उक्त निर्णयले मस्कोबाट एक सय १० किलोमिटर उत्तरमा रहेको डुबनास्थित ज्वाइन्ट इन्स्टिच्युट फर न्युक्लियर रिसर्च (जेआइएनआर) का कर्मचारीहरूलाई प्रभावित गर्नेछैन ।

रुसको बहिष्कारको अर्थ सिइआरएनले महत्त्वपूर्ण वित्तीय योगदान गुमाउनेछ । रुसले प्रयोगशालाको विशाल कण उत्प्रेरक लार्ज हाड्रोन कोलाइडरमा सञ्चालित प्रयोगहरूको वार्षिक सञ्चालन लागतको करिब चार दशमलव पाँच प्रतिशत अर्थात २७ लाख डलर योगदान दिँदै आएको थियो ।

साथै यसले एलएचसीको नाटकीय उन्नयनका लागि चार करोड फ्राङ्क योगदान गर्ने प्रतिज्ञा गरेको थियो । यो सन् २०२९ मा सञ्चालनमा आउनेछ र पत्ता लगाउन सकिने घटनाहरूको सङ्ख्या १० गुणा बढाउनेछ ।

अन्य सदस्य मुलुकहरूले रुसको बजेट योगदान पूरा गर्ने भन्दै मार्सोलियरले सिइआरएनले एलएचसी उन्नयनमा खाडल पूरा गर्ने बताए । “यसका कारण कुनै ढिलाइ हुने अपेक्षा गरिएको छैन”, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here