नयाँदिल्लीमा पक्राउ परेका ढोरपाटनका मेयर देवकुमार नेपालीलाई बागलुङ पठाइयो



काठमाडौँ । भारतको नयाँदिल्लीमा शुक्रबार पक्राउ परेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई प्रहरीले काठमाडौँ ल्याएर बागलुङ पठाएको छ ।

प्रहरीले दिल्लीबाट काठमाडौं ल्याई नेपालीलाई आइतबार बागलुङ पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले जनाएको छ ।


पोखरा र बागलुङमा सञ्चालित ईमेज बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष तथा पोखरामा सञ्चालित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको संचालकसमेत रहेका नेपालीले सहकारीको एक अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ अपचलन गरेको आरोप छ ।

सोही प्रकरणमा मेयर नेपालीसँगै बागलुङको बुर्तिबाङका ५८ वर्षीय ओमप्रसाद दर्जीलाई समेत पक्राउ गरी बागलुङ पठाइएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । सहकारीको बचत रकम अपचलन गरेको खुलेपछि उनीविरुद्ध बचतकर्ताले उजुरी दिएका थिए ।

त्यसपछि उनी फरार भएका थिए । फरार भएपछि नेपालीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी भएको थियो । उनीविरुद्ध बाग्लुङ जिल्ला अदालतमा मुद्दा विचाराधीन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here