विपद्मा सक्रियतापूर्वक उद्धार गर्न र राहतमा जुट्न सभामुखको आह्वान



काठमाडौं । सभामुख देवराज घिमिरेले विपद्को यस्तो घडीमा नागरिकको जीवन रक्षाका लागि सक्रियतापूर्वक उद्धार र राहतमा जुट्न सबैलाई आह्वान गरेका छन् ।

सभामुख घिमिरेले आज अपिल जारी गर्दै विपद्को यस्तो घडीमा नागरिकको जीवन रक्षाका लागि सक्रियतापूर्वक उद्धार र राहतमा जुट्न सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार साथै सुरक्षा निकाय, जनप्रतिनिधि, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, कर्मचारी वर्ग, सामाजिक सङ्घसंस्था र आम नेपाली जनतामा आह्वान गरेका हुन् ।


“तीन दिनदेखि लगातार भएको भारी वर्षाका कारण देशभर ठूलो मात्रामा भएको भौतिक र मानवीय क्षतिले स्तब्ध बनाएको छ । बाढी पहिरोमा परी दिवङ्गत हुनुभएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु”, उनले भनेका छन् ।

सभामुख घिमिरेले विपद्मा परि घाइते हुनुभएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ताको खोजबिनका लागि विशेष ध्यान दिन स्थानीय प्रशासन र सुरक्षा निकायको ध्यानाकर्षणसमेत गराएका छन् ।

वर्षा भोलिसम्म जारी रहने पूर्वअनुमान रहेकाले आफ्नो गाउँघर र आसपासका क्षेत्रमा सम्भव सबै सुरक्षा अपनाउन अनुरोध गर्दै उहाँले नजिकै रहेका छिमेकीलाई मानवीय सहयोग आवश्यक परेको अवस्थामा सुरक्षा निकाय तथा सम्बन्धित स्थानीय तहलाई सूचना दिन र समन्वय गर्न अपिल गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here