प्रतिगमनको खतरा अझै टरेको छैन : नारायणकाजी श्रेष्ठ



गाेरखा । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले देशमा प्रतिगमनको खतराको अझै टरी नसकेको बताएका छन् ।

बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले संविधान विरोधी शक्तिबाट देशमा प्रतिगमन खतरा बाँकी नै रहेको बताएका हुन् । संविधानको रक्षाका लागि दलीय गठबन्धन गरेर अघि बढ्नु परेको उल्लेख गर्दै उनले अझै पनि केही राजनीतिक दल गठबन्धनमा विभाजन ल्याएर देशलाई प्रतिगमनतर्फ लैजान प्रयास गरिरहेको जिकिर गरे ।


“प्रतिगमनको खतरा अझै टरेको छैन”, उनले भने, “शान्ति र संविधानको रक्षाका लागि सबै सचेत हुनु जरुरी छ ।” नेता श्रेष्ठले जनमुखी विकास गरेर देशलाई परिवर्तन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए । नेपालको सङ्घीयता विशेष प्रकारको रहेको छ”, उनले भने, “सङ्घीयता स्थापित भएसँगै नेपाली जनताको अधिकार सङ्घ प्रदेश हँुदै गाउँसम्म पुगेको छ ।”

माओवादी केन्द्रले सञ्चालन गरेको जनयुद्धले देशमा सङ्घीयता स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको कुरालाई कसैले नर्कान नसक्ने उल्लेख गर्दै उनले अब विकास र समृद्धिमार्फत सङ्घीयताको मर्म र भावना जनतालाई बुझाउनुपर्नेमा जोड दिए । “सङ्घीयता स्थापनापछि त्यसको कार्यान्वयनमा केही कमीकमजोरी भएका छन्”, उनले भने, “त्यस्ता कमीकमजोरीलाई समीक्षा गर्दैै जनताको घरदैलोमा पुग्नुपर्ने बेला आएको छ, अब हामीले जनतालाई बुझाउनु पनि पर्छ ।”