तालिबानद्वारा महिलाहरूमाथि गरिएको आलोचना अस्वीकार



संयुक्त राष्ट्रसङ्घको महासभामा यस साता अफगानिस्तानमा महिलाहरूमाथि गरिएको व्यवहारबारे उठाइएका चिन्ताहरूलाई तालिबान सरकारले  अस्वीकार गरेको छ ।

अस्ट्रेलिया,  क्यानाडा, जर्मनी र नेदरल्यान्ड्सले न्युयोर्कमा भएको महासभामा महिलाहरूमाथि तालिबानको ‘अवहेलना’ विरुद्ध हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदातलमा कारबाही सुरु गरेको घोषणा गरेका थिए ।


“केही मुलुक र पक्षले अफगानिस्तानमाथि मानवाधिकार उल्लङ्घन र लैङ्गिक भेदभाव भएको भनेर लगाएका आरोपहरू आधारहीन छन्”, सरकारका प्रवक्ता हमदुल्लाह फितरनले भने, “अफगानिस्तानमा मानवाधिकारको संरक्षण गरिएको छ र कसैलाई पनि भेदभाव गरिएको छैन, दुर्भाग्यवश भागेका केही महिलाहरूको भनाइका आधारमा अफगानिस्तानविरुद्ध प्रचार फैलाउने प्रयास भइरहेको छ ।”

सन् २०२१ अगस्टमा तालिबान सत्तामा फर्केपछि महिलाहरूलाई क्रमशः सार्वजनिक स्थानबाट बाहिर पारेका छन् । अहिले महिलाहरू प्राथमिक विद्यालयभन्दा माथि अध्ययन गर्न, पार्क, जिम वा सौन्दर्य केन्द्रहरूमा जान सक्तैनन् । साथै उनीहरूलाई पुरुष साथीसँग मात्र घरबाट बाहिर निस्कन सुझाव दिइएको छ ।

हालै जारी गरिएको नैतिकता कानूनले महिलाहरूलाई सार्वजनिक स्थलमा ठूलो स्वरले बोलन पनि प्रतिबन्ध लगाएको छ । संयुक्त राष्ट्रसङ्घले ती नियमहरूलाई ‘लिङ्गभेद’ को संज्ञा दिएको छ ।

अमेरिकी अभिनेत्री मेरिल स्ट्रिपले अफगानिस्तानमा एउटी बालिकाभन्दा ‘एउटा लोखर्केको बढी अधिकार’ रहेको बताइन् । “काबुलमा एउटा चराले गीत गाउन सक्छ तर एउटी बालिका वा महिलाले सार्वजनिकरूपमा गाउन सक्तैनन्”, ओस्कार विजेता अभिनेत्रीले राष्ट्रसङ्घीय महासभाको ‘साइडलाइन’ मा भएको छलफलका क्रममा भनिन् ।

अफगानिस्तानमा मानवाधिकारका लागि राष्ट्रसङ्घका विशेष दूत रिचर्ड बेनेटले हेगमा सुरु गरिने कारवाही ‘महिला र किशोरीहरूविरुद्ध तालिबानको अपराधहरूका लागि न्यान दिने दिशामा महत्त्वपूर्ण कदम’ भएको बताए ।

यस वर्ष अफगानिस्तान प्रवेश गर्न अस्वीकार गरिएका बेनेटले अन्य मुलुकहसँग कारबाहीमा सहभागी हुन आह्वान गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here