३६ घण्टा लामो निर्जल र निराहार उपवासपछि जितिया पर्व सम्पन्न



जलेश्वर। मिथिलाञ्चललगायत मधेशका अधिकांश क्षेत्रमा मनाइने जितिया पर्व बुधबार मिथिलानीहरूको ३६ घण्टा लामो निर्जल र निराहारपछि सम्पन्न भएको छ।

सन्तानको दीर्घजीवन तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व यहाँ सोमबारदेखि नै धार्मिक विधिअनुसार सुरु भएको थियो। मंगलबार बिहान ४ बजेदेखि आज साँझ सवा ५ बजेसम्म व्रतालु महिलाहरू उपवास बसेका थिए।


यसरी उपवास बसेका महिलाहरू (मिथिलानी) ले बुधबार साँझ सवा ५ बजे पवित्र नदी, पोखरी र तलाउ तथा जलाशयमा नुहाएर अन्तिम पूजा गरी दही, चिउरा, अमोट, सख्खर र काँक्रोको प्रसाद चढाएर व्रत सम्पन्न गरेका छन्। यसरी व्रत समापन गर्ने विधिलाई मिथिलामा पारण भनिन्छ भने पारण गरेर व्रतालु महिलाहरूले आआफ्ना घरमा देवतालाई चढाएका प्रसाद ग्रहण गर्नुका साथै विभिन्न खानेकुरा खाने चलन रहेको छ।

श्री जानकी भित्तेपात्रोमा रहेको मिथिला पञ्चाङ्गअनुसार मिथिलाञ्चलभरि असोज ७ गते सोमबार ओंगठन, असोज ८ गते व्रत र असोज ९ गते आज जितिया व्रत पारण गर्ने उल्लेख छ। तिथिको हेरफेरअनुसार यसवर्ष मिथिलाञ्चलमा सोमबार नहा खा (नुहाएर खाने) विधिबाट सुरु भएको पर्वमा व्रतालु महिलाहरू मंगलबार बिहान ४ बजेदेखि बुधबार दिनभरि उपबास बस्ने प्रचलन रहेको जलेश्वरनाथ महादेव मन्दिरका पूजारी पण्डित उपेन्द्र पाठकले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here