स्थानीयलाई विकासको जिम्मेवारी दिनुपर्छ : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको बताएका छन् । शनिवार ललितपुरको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्रीले स्थानीयहरुलाई नै विकास निर्माणको काम दिनुपर्ने बताएका हुन् ।

उनले विकास निर्माणको काम स्थानीय सरकारलाई दिएकोले अधिकांश काम राम्रो र छिटो तथा गुणस्तरीय ढंगबाट सम्पन्न भएको पनि बताए । प्रधानमन्त्रीले ललितपुर महानगरपालिकामा भएको विकास राष्ट्रिय स्तरमा मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाल र नेपालीको परिचय फराकिलो बनाउन सहयोग पुग्ने विश्वास लिएको बताए ।


२०७२ सालको भूकम्पले भीमसेन मन्दिरमा क्षति पुर्याएको थियो । मन्दिरको पुनर्निर्माण स्थानीय व्यावसायी र दाताहरुको आर्थिक सहयोगमा भएको हो । पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर पुनर्निर्माणका लागि ललितपुर महानगरपालिकाले पनि आर्थिक सहयोग गरेको थियो । यो मन्दिर झण्डै तीन सय वर्ष अघि श्रीनिवास मल्लको पालामा निर्माण भएको हो ।