सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा इमानदारिता चाहिन्छ: मुख्यमन्त्री



लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले देशमा सुशासन कायम गर्नका लागि राजनीतिक नेतृत्वमा इमान्दारिता चाहिने बताएका छन्।

लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज बुटवलमा आयोजना गरेको सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रणसम्बन्धी पाँचवर्षे रणनीतिक कार्ययोजनाको मस्यौदामाथिको छलफलमा उनले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न राजनीतिक नेतृत्वमा इमानदारिता जरुरी पर्ने बताए।


‘राजनीतिक नेतृत्व सच्चिन र सुध्रिन जरुरी छ। नियत बेठीक छैनभने ‘ब्यूरोक्रायट’ले पनि साथ दिन्छ। मैले साथ पाइरहेको छु। जुन कार्ययोजना अघि बढाएको छु, त्यसमा मैले पूर्ण साथ सहयोग पाएको छु। उत्साह बढिरहेको छ’, उनले भने, ‘राजनीतिक नेतृत्वमा समस्याहरू छन्। सबै कुरा सुधारेर लैजान सकिन्छ। त्यो आँट छ । त्यो आँटका साथ प्रदेश सरकार अघि बढिरहेको छ।’

कार्यक्रममा गुल्मी, पाल्पा, अर्घाखाँची, रुपन्देही, नवलपरासी पश्चिम, कपिलवस्तुका जिल्ला समन्वय समितिका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, उद्योगी, व्यवसायीलगायत सरोकारवाला पक्षको सहभागिता थियो।

लुम्बिनी प्रदेश सरकारले सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रणसम्बन्धी पाँचवर्षे रणनीतिक कार्ययोजनाको मस्यौदामाथि छलफल सुरु गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here