१५औं इक्यान शैक्षिक मेला १३ गते हुँदै, १५ हजार विद्यार्थी सहभागिताको अपेक्षा



काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले १५औं संस्करणको ‘इक्यान मल्टी-डेस्टिनेसन एजुकेशनल फेयर–२०२४’ को आयोजना गर्ने भएको छ । इक्यानले यही असोज १३ गते बानेश्वरको एभरेष्ट होटलमा उक्त मेलाको आयोजना गर्ने भएको हो ।

सोमबार पत्रकार सम्मेलन गर्दै इक्यानले विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुलाई मद्दत पुगोस् भन्ने उद्देश्य राखी मेलाको आयोजना गर्न लागेको बताएको छ । इक्यानका अनुसार यो मेला एक दिन मात्र सञ्चालन हुनेछ ।


शैक्षिक मेलाबाट विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालालाई अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी सहि जानकारी र परामर्श दिनको लागि मेला आयोजना गर्न लागेको इक्यानका अध्यक्ष शेषराज भट्टराईले जानकारी दिए । यो शैक्षिक मेला उक्त दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने बताइएको छ ।

इक्यानले मेलामा करिव १५ हजार भन्दा बढी विद्यार्थी तथा अभिभावकको सहभागिता हुने अपेक्षा गरेको छ । मेलामा विभिन्न देशका राजदूतावास तथा कूटनीतिक नियोगहरुलाईसमेत सहभागिता हुन निमन्त्रणा गरिएको इक्यानले बताएको छ ।

अध्यक्ष भट्टराईका अनुसार मेला विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूको लागि पुलको रूपमा स्थापित हुनेछ । मेलामा इक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरू, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरू तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क, लगायत देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागिता हुने इक्यानले जानकारी दिएको छ ।

मेलामा नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना परामर्श सेवा प्रदान गरिने बताइएको छ । विद्यार्थीहरूको उच्च शिक्षाको सपना साकार पार्न यो शैक्षिक मेला एक महत्वपूर्ण प्लेटफर्मको रूपमा प्रस्तुत हुने पनि अध्यक्ष भट्टराइले बताएका छन् ।

‘मेलामा सहभागी हुने विद्यार्थीहरूले विभिन्न देशका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्न पाउनेछन्, जसले गर्दा उनीहरूलाई आफ्नो शिक्षा र करियरको योजना बनाउन थप सहज साथै स्पष्ट हुने अपेक्षा गरिएको छ,’ उनले भने ।

वन अप प्रा.लि.को व्यवस्थापनमा सम्पन्न हुने यो मेलाको टाइटल शीर्षक प्रायोजक रियल ड्रीम्स एजुकेशन कन्सल्टेन्सी, इन एशोसिएसनका रूपमा वेद इन्टरनेशनल एजुकेशन रहेको छ । इक्यानले कोभिड– १९ पछि आयोजना गरेको यो पहिलो शैक्षिक मेला आइएलटीएस पार्टनरको रूपमा ब्रिटिश काउन्सिल रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here