बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३० लाखभन्दा धेरै परिवार प्रधानमन्त्री सूर्यघर योजनाका लागि आवेदन दिएको बताएका छन् । गुजरातको गान्धीनगरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले यस्तो जानकारी दिएका हुन् ।

कार्यक्रममा उनले यस योजनाअनुसार हालसम्म ३ लाख ७५ हजार घरमा सौर्य ऊर्जा जोडिएको समेत उल्लेख गरे । भारतीय समाचार संस्था एएनआईका अनुसार यो योजनाअन्तर्गत घरमा जडान गरिने सौर्य पाताबाट उत्पादित ऊर्जा सोही परिवारले उपभोग गर्नेमात्रै नभइ बाँकी बचेको विद्युत् प्रसारण लाइनमा पनि आपूर्ति गरिन्छ ।


यसरी बाँकी भएको विद्युत् प्रसारण लाइनमा आपूर्ति गर्ने परिवारलाई सरकारले उल्टै पैसा समेत दिने गरेको छ । प्रधानमन्त्री मोदीका अनुसार मासिक २५० युनिट विद्युत खपत गरी १ सय युनिट विद्युत् प्रसारण लाइनमा बिक्री गर्ने परिवारले वार्षिक २५ हजार रुपैयाँ बचत गर्न सक्छन् ।

प्रधानमन्त्री मोदीका अनुसार यो योजना लागू भएको खण्डमा २० लाखभन्दा धेरै रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ । यो योजनाले भारतका हरेक घरलाई विद्युत् उत्पादकका रुपमा रुपान्तरण गर्ने लक्ष्य लिएको छ ।