क्यानडासँग नेपाल १०३ रनले पराजित 



काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा क्यानडासँग नेपाल १०३ रनले पराजित भएको छ। सोमबार राति भएको खेलमा नेपालले खराब ब्याटिङ गर्दै ओडिआईमा क्यानडासँग पहिलो पटक पराजित भएको हो। 

किङ्ग सिटीमा भएको खेलमा घरेलु टोली क्यानडाले दिएको २५४ रनको लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा १५० रन बनाउँदै अल आउट भएको हो।


नेपालका लागि करण केसीले २४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २७ रन बनाए। त्यसैगरी सन्दीप लामिछानेले १६ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २२ रन बनाए। 

ओपनर आसिफ शेखले २० रन, भीम सार्की ३० बलमा १८ रन, गुलसन झाले १५ रन, कुशल मल्ल १२ रन, दीपेन्द्रसिंह ऐरीले ६ रन, सोमपाल कामीले ५ रन, कप्तान रोहित पौडेलले ५ रन, ओपनर कुशल भुर्तेल १ रन मात्र जोड्न सके।  

क्यानडाका डेलिन हेलिगरले १० ओभरमा ३१ रन खर्चिएर ५ विकेट लिए। अन्श पटेल र अखिल कुमारले २र२ विकेट ,साद विन जाफरले १ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले ५० ओभरमा ८ विकेट गुमाएर २५३ रन जोडेको थियो। कप्तान निकोलस किर्टोनले ४४ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै ७३ रनको योगदान गर्दै अविजित रहे।

नेपालका करण केसी र ललितनारायण राजवंशीले समान दुई विकेट लिए । सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले एक–एक विकेट हात पारे । 

लिग-२ मा पाँचौं खेल खेलेको नेपालको यो चौथो हार हो । यसअघि नेपालले घरेलु मैदानमै भएका चार खेलमध्ये तीन खेलमा हार व्यहोरेको थियो । 

जितसँगै नौ खेलबाट १० अंक जोडेको क्यानडा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पाँच खेल खेल्दा दुई अंकमात्र जोडेको नेपाल तालिकाको सातौँ स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here