मृतक दुई बालबालिकाका परिवारलाई पाँच/पाँच लाख दिइने



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरमा दुई बालबालिकाको निधन भएकोप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई पाँच/पाँच लाख क्षतिपूर्ति दिइने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले मृतकका परिवारजनलाई सरकारले उक्त रकम बराबरको क्षतिपूर्ति दिन लागेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले घाइतेको उपचारको जिम्मा सरकारले लिने पनि सदनलाई जानकारी गराए ।


“पाँचथरमा दुई बालबालिकाको दुःखद् मृत्यु भयो । अहिले त्यत्ति भनौँ, कसरी निधन भयो भन्ने विषय पछि कुरा गरौँला”, उनले भने, “बिस्फोटबाट भन्न मिल्ने हो कि नमिल्ने हो, यहाँ अन्यौल भइरहेको छ तर पनि विस्फोटबाट दुई बालबालिकाको दुःखद मृत्यु भयो, मृतकका परिवारलाई सरकारले पाँच–पाँच लाख क्षतिपूर्ति दिने र घाइतेको उपचार सरकारले गर्ने सभामुखमार्फत सदनलाई जानकारी गराउन चाहन्छु ।”

यही भदौ १३ गते पाँचथरको फलेलुङ गाउँपालिका–५ प्रङबुङस्थित एउटा घरको आँगनमा विस्फोटक पदार्थ पड्किँदा दुईजना बालबालिकाको मृत्यु भएको थियो । ज्ञानबहादुर राईको परिवार बस्दै आएको घरको आँगनमा भएको विस्फोटमा ज्ञानबहादुरका छिमेकी दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा र दुई वर्षीया छोरी प्रिन्सा साँवाको मृत्यु भएको थियो ।

प्रधानमन्त्री ओलीले देशभरि विभिन्न स्थानमा केही समययता प्राकृतिक विपत्तिका घटनाहरु भइरहेका तथा ती घटनामा जीवन गुमाउने, अङ्गभङग हुने, जनजनको क्षति हुने अवस्थाप्रति दुःख व्यक्त गर्दै दिवङ्गतप्रति श्रद्धासुमन अर्पण गरे । साथै उनले दुर्घटनाका घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेहरुको उपचारको जिम्मा सरकारले लिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here