नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा : मन्त्री दाहाल



काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

इञ्जिनीयरिङ् अध्ययन संस्थान, पुलचोक कलेजले विकास गरेको पेट्रोल र हाईड्रोजनबाट चल्ने गाडीको शुभारम्भ कार्यक्रममा आज उनले समृद्ध नेपालको लक्ष्य प्राप्त गर्न वैकल्पिक ऊर्जा, प्रविधि र अनुसन्धानलाई प्रोत्साहन गर्न सरकार तयार रहेको बताए ।


मन्त्री दाहालले प्रविधिको विकास र प्रवर्द्धनका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि मन्त्रालय अग्रसर रहेकोसमेत बताए । “औद्योगिक मुलुकका कारण विश्वव्यापी रूपमा बढिरहेको कार्बन उत्सर्जनको मारमा नेपाल जस्ता मुलुकहरू परिरहेका छन् । यसले पर्दा हिमालदेखि समुद्रसम्म प्रदूषणको मारमा परिरहेको छ”, उनले भने,“यस्ता विश्वव्यापी चुनौतीको सामना गर्न नेपाल पनि तयार रहनुपर्छ । त्यसका लागि वातावरणमैत्री र नवीकरणीय ईन्धनको प्रवर्द्धनमा जोड दिन आवश्यक छ ।”

मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालले प्राकृतिक रूपबाट नै हाईड्रोजन प्राप्त गर्न सक्ने भएकाले औद्योगिक उत्पादन र उपयोगका लागि कानुनी व्यवस्था गर्न मन्त्रालय तयार रहेको बताए ।

पेट्रोल र हाईड्रोजनको प्रयोगबाट चल्ने ‘इञ्जिन’ निर्माणको नेतृत्व गरेका डा प्रकाश थापाले पेट्रोलबाट चल्ने पुरानो कारको इञ्जिनलाई हाईड्रोजन उपयोग गरी पेट्रोलको खपत कम गराउन पहिलो पटक नमूनाका रूपमा इन्जिन बनाइएको बताए । यस प्रविधिको विकास र विस्तार गर्न सके थोत्रा भएर थन्किएका सयौँ सवारी साधनलाई पुनः प्रयोगमा ल्याउन सकिने उनको भनाइ थियो ।

कार्याक्रममा क्याम्पस प्रमुख डा ईन्द्रप्रसाद आचार्य, सहायक डिन चिन्तामणि पोखरेललगायतले नेपाली प्राविधिक र प्रविधिलाई प्रोत्साहनको खाँचो रहेको बताएका थिए ।

सोही कार्यक्रममा ‘कन्भर्सन’ प्रविधि उपयोग गरी इञ्जिन रूपान्तरण गरिएको कारमा मन्त्री दाहाल, सांसद ठाकुर गैरे, पूर्वमन्त्री कर्णबहादुर थापासमेत सवार भएको थियो । कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्, हाईड्रोजनविज्ञलगायतको सहभागिता रहेको थियो ।