चौधर नदीले कटान गर्दा कञ्चनपुरको बेदकोटको एक बस्ती जोखिममा



कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–४, बैतोडामा चौधर नदीले कटान गर्न थालेपछि बस्ती नै जोखिममा पर्दै गएको छ । बिहीबारदेखिको निरन्तर वर्षासँगै नदीमा आएको बाढीबाट दुई दर्जन बढी परिवारको झन्डै तीन बिघा जग्गा कटान भई बगरमा परिणत भएको छ । टोलकै ज्ञानज्योति बालविकास केन्द्रको जग्गा समेत कटान गरेको छ ।

नदीतटीय क्षेत्रमा बसोबास गर्ने धनगिरी ओडले सात कट्ठा जग्गामा लगाइएको धानबालीसहित खेत बगाएको बताए । “थोरै जग्गा थियो, त्यही जग्गा पनि नदीले बगाएको छ । घर समेत उच्च जोखिममा परेको छ,” उनले भने । बाढीबाट जोगिन आफन्तको शरणमा जानुपर्ने अवस्था सिर्जना भएको ओडले बताए ।


यस टोलमा अधिकांश आर्थिक रूपमा विपन्न दलित समुदायका परिवारको बसोबास छ । तटबन्धको प्रबन्ध नहुँदा प्रत्येक वर्ष बाढीबाट यसरी नै जग्गा कटान हुँदै आएको छ । यसै वर्षायाममा एक दर्जन बढी परिवारको जग्गा कटान भइसकेको समाजसेवी राजुराम सार्कीले बताए ।

“तटबन्ध निर्माणका लागि पटक–पटक नगरपालिका कार्यालयलाई गुहार्दै आएका छौँ, अहिलेसम्म सुनवाइ हुन सकेको छैन,” उनले भने ।

सार्कीकाअनुसार, धेरै परिवारको जग्गा बगेको र बचेकाको पनि बगरमा परिणत भएको छ । चाँडै तटबन्ध निर्माण नगरिए पूरै गाउँका बासिन्दा विस्थापन हुनुपर्ने अवस्था रहेको उनले बताए ।

यस्तै, कृष्णपुर नगरपालिका–२, बंकस्थित बादी समुदायको बस्ती रहेको प्रगति टोलमा वनहरा नदीले कटान गरिरहेको छ । वनहरा विपद् व्यवस्थापन समितिका अध्यक्ष पदम रानाले नदीले धार परिवर्तन गरी बादी बस्तीतर्फ सोझिएर कटान गर्न थालेको बताए ।

“२०० मिटर बाटो बगाई नदीले बस्तीको जग्गा कटानी गरिरहेको छ । रोकथामका लागि तत्काल केही उपाय नहुने हो भने धेरै समस्या निम्तिने देखिन्छ । त्यसैले सम्बन्धित निकायलाई तटबन्ध निर्माणका लागि आग्रह गर्दछौँ,” उनले भने ।

वडाअध्यक्ष अर्जुन साउदले बस्ती जोगाउन तटबन्ध निर्माणका निम्ति नगरपालिका, प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराइने बताए । उनले भने, “तटबन्ध निर्माण गर्न वडाको बजेटले धान्दैन, अन्य निकायलाई गुहार्नुको विकल्प छैन ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here